arrow

जलवायु सङ्कट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्छ : उपराष्ट्रपति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २८ आइतबार
media-sumit.jpg

ललितपुर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तन वर्तमानको सबैभन्दा गम्भीर सङ्कट भएको बताएका छन् । साथै उनले जलवायु सङ्कट नियन्त्रणका हरेक प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने बताए ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा ललितपुरमा शनिबार आयोजित लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको उद्घाटन गर्दै उनले जलवायु परिवर्तनका कारण उत्पन्न सङ्कट नियन्त्रण तथा समाजमा चेतना फैलाउन मडियाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

'जलवायु परिवर्तन र त्यसको प्रभाव घटाउन  पत्रकारको सक्रियता आवश्यक छ, सत्यतथ्यमा आधारित समाचार सामग्रीको उत्पादन गर्दै जनचेतना फैलाउने, नीति निर्मातालाई उत्तरदायी बनाउने, नवीन प्रविधिको प्रयोग तथा समस्या समाधानका उपायका साथ मिडिया प्रस्तुत हुनुपर्छ,' उनले भने ।

जलवायु परिवर्तन रोकथामका सरकारी प्रयासमाथि निगरानी बढाउने, वातावरणमैत्री प्रविधि, हरित ऊर्जा तथा दिगो विकाससम्बन्धी जानकारी आमनागरिकसम्म सरल भाषामा पस्कन उपराष्ट्रपतिले पत्रकारलाई सुझाव दिए ।

सनसनी फैलाउने समाचारले गतल सूचना प्रवाह गर्ने भएकाले त्यसप्रति पत्रकार सचेत हुनुपर्नेमा उनले जोड दिए । उनले पत्रकार पेशागत रुपमा निरपेक्ष हुनुपर्नेमा जोड दिए । 

'प्रेस स्वन्तन्त्रता लोकतन्त्रको मेरुदण्ड हो, लोकतन्त्रलाई सशक्त बनाउन प्रेस स्वतन्त्रता अनिवार्य छ, स्वतन्त्र प्रेस नागरिकलाई सही सूचना प्रदान गर्ने, सरकारको जवाफदेहिता सुनिश्चित गर्ने तथा आमनागरिकको आवाज उठाउने एक महत्वपूर्ण माध्यम पनि हो', स्वतन्त्र प्रेसका माधयमबाट लोकतन्त्र सुदृढ हुने बताउँदै उपराष्ट्रपतिले भने ।

सामाजिक सञ्जालमा प्रमाणबिना समाचार फैलाउने, गलत जानकारीलाई सत्यका रुपमा प्रस्तुत गरी आमनागरिकमा भ्रम सिर्जना गर्ने, ‘डीपफेक’ प्रविधिद्वारा गलत चित्र र भिडियो उत्पादन गरी सार्वजनिक धारणा प्रभावित भइरहेको चुनौतीपूर्ण अवस्थामा तथ्य जाच्ने प्रणालीलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए । 

परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रेस स्वतन्त्रता र लोकतन्त्रको सुदृढीकरणबाट समाजमा सकारात्मक प्रभाव पर्ने तथा मुलुक उन्नतिको मार्गमा अग्रसर हुनसक्ने बताइन् । 

प्रविधिको तीव्र विकास र सञ्चारका परम्परागत माध्यमको परिवर्तनसँगै नवीन माध्यमले गलत सूचनाको तीव्र फैलावटलाई बढावा दिएकाले लोकतन्त्रको आधारशिलालाई  क्षति गर्ने तिनको गलत प्रयोग र प्रवृत्ति नियन्त्रण गर्नुपर्ने बताइन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ