काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को लिग चरण अन्तिमतिर धकेलिँदै गर्दा प्लेअफको प्रतिस्पर्धा थप रोचक बनेको छ। बुधबार चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेपछि कोलकाताको प्लेअफ सम्भावना कमजोर बनेको छ।
हाल अंक तालिकामा पञ्जाब किंग्स ११ खेलमा १५ अंकसहित तेस्रो स्थानमा छ भने दिल्ली क्यापिटल्स ११ खेलमा १३ अंकसहित पाँचौं स्थानमा छ। आज यी दुई टोलीबीचको खेलले प्लेअफको समीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ। आजको खेल जितेमा पञ्जाब शीर्ष स्थानमा उक्लिने सम्भावना छ भने दिल्ली पनि तेस्रो स्थानमा पुग्न प्रयासरत हुनेछ।
उता, कोलकाता नाइट राइडर्स १२ खेलमा ११ अंकसहित छैटौं स्थानमा छ र प्लेअफमा पुग्न अब उसले बाँकी दुवै खेल जित्नुपर्ने हुन्छ र अन्य टोलीको नतिजामा पनि निर्भर रहनुपर्ने अवस्था छ।
चेन्नईले आईपीएलको ५७औं खेलमा कोलकातालाई २ विकेटले रोमाञ्चक जित हासिल गर्यो। चेन्नईलेले १८० रनको लक्ष्य १९.४ ओभरमा ८ विकेट गुमाएर हासिल गर्यो। कप्तान एमएस धोनी १७ रन बनाएर अविजित रहे।
डेवाल्ड ब्रेविसले २५ बलमा ५२ र शिवम दुबेले ४० बलमा ४५ रनको पारी खेले। उर्विल पटेलले ११ बलमा ३१ रन बनाए। वैभव अरोड़ाले ३ विकेट लिए। हर्षित राणा र वरुण चक्रवर्तीले २-२ विकेट लिए।
ईडन गार्डन्स स्टेडियममा कोलकाताले टस जितेर ब्याटिङ रोज्यो र २० ओभरमा ६ विकेट गुमाएर १७९ रन बनायो। कप्तान अजिंक्य रहाणेले ४८ रन बनाए। आंद्रे रसेलले ३८ र मनीष पांडेयले अविजित ३६ रनको योगदान दिए। नूर अहमदले ४ विकेट लिए। उनी प्लेयर अफ द म्याच चुनिए।
सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा मुम्बईका सूर्यकुमार यादव ५१० रनसहित पहिलो स्थानमा छन् भने सर्वाधिक विकेट लिने खेलाडीमा चेन्नईका नूर अहमद र गुजरातका प्रसिद्ध कृष्णा समान २० विकेटसहित शीर्ष स्थानमा छन्। सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको सूचीमा लखनउका निकोलस पूरन ३४ छक्कासहित अगाडि छन्।
आईपीएलको यो सिजन निकै प्रतिस्पर्धात्मक देखिएको छ र प्लेअफमा पुग्ने चार टोलीको टुङ्गो लाग्न अझै केही खेल बाँकी छन्। आज दिल्ली र पञ्जाबबीचको खेललाई धेरैले महत्वपूर्ण रूपमा हेरेका छन्।