बागलुङ । बागलङको निसीखोला गाउँपालिका–२ उपल्लोबेङ्ग्री गाउँमा पहिलो पटक मोटरेबल सडकको पहुँच पुगेको छ । भौगोलिक विकटताका कारण ट्रयाक खोल्न सुरु गरेको सात वर्षपछि उपल्लो बेङ्ग्री सडकले जोडिएको हो ।
विसं २०७५ मा उक्त गाउँलाई सडकले जोड्नका लागि ट्रयाक खोल्न सुरु गरिएको थियो । वैशाख २१ गते गाउँमा सडक पुगेपछि स्थानीयव हर्षित भएका छन् । स्थानीयले यातायात र सामान ढुवानी गर्दा सास्ती खेप्दै आएका थिए । निसीखोला गाउँपालिकाले विभिन्न आर्थिक वर्षमा बजेट विनियोजन गरी ट्रयाक खोल्न सुरु गरेको थियो । रु ९१ लाख खर्च गरेर यसवर्ष उपल्लोबेङ्ग्री सडक विस्तार भएको वडा नम्बर २ का अध्यक्ष कुविर विकले बताए ।
अग्लो पहाड नै सिरमा रहेको बस्तीमा सडक पुर्याउनका लागि धेरै प्रयास गरे पनि यसवर्ष मात्रै सफल भएको उहाँको भनाइ छ । गाउँपालिकाको केन्द्र जुग्जा खोलादेखि सिधा सडकले जोड्न खोजे पनि ठूलो पहराको कारण अर्नाकोट तिरबाट उपल्लोबेङ्ग्रीमा सडक पुर्याइएको अध्यक्ष विकले जानकारी दिए ।
उपल्लो बेङ्ग्रीमा ६५ परिवारमा २०० भन्दा नागरिक बसोबास गर्दै आएका छन् । उनीहरुलाई सहर बजार पुग्नका लागि पहिले निकै समस्या थियो । सडकले गाउँ जोडिएपछि गाउँमा थुप्रै सम्भावनाका ढोकाहरु खुलेको स्थानीय खुमबहादुर खत्रीले बताए ।