मन्त्रालय र एनएमएबीच सहमति, चिकित्सकको आन्दोलन स्थगित [पत्रसहित]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २० शनिबार
716
Shares
काठमाडौँ । आन्दोलित चिकित्सकको आन्दोलन स्थगित भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल मेडिकल एसोसिएसनबीच चार बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो ।
सहमतिमा चिकित्सा शिक्षा आयोगको गत माघ २५ गते बसेको १६ औँ बैठकको निर्णय बमोजिम सम्पूर्ण निजी मेडिकल कलेजहरुका चिकित्सा शिक्षा स्नातकोत्तर तहको कार्यक्रममा अध्ययन गर्ने सम्पूर्ण आवासीय चिकित्सकहरुलाई सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरुलाई दिए सरह निर्वाह भत्ता तत्काल उपलब्ध गराउन सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन गर्ने भएको छ ।
त्यस्तै आवासीय चिकित्सकहरुको बिदा, ड्युटी आवर, अतिरिक्त सुविधा लगायतका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यदल गठन गरी १५ कार्य दिनभित्र प्रतिवेदन पेश गर्ने सहमति भएको छ ।
त्यस्तै चिकित्सा शिक्षा आयोगको १८ औँ बैठकको निर्णय बमोजिम आयोगले सबै विद्यार्थीहरुले एकीकृत रुपमा म्याचिङ तथा भर्ना हुन पाउने गरी व्यवस्था मिलाउन मन्त्रालयले सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्ने रहेको छ ।
साथै नेपाल मेडिकल एसोसिएसन (एनएमए)ले गरिरहेको सबै प्रकारका आन्दोलनका कार्यक्रमहरु शनिबारकै मितिबाट अन्त्य गर्ने र सम्पूर्ण चिकित्सकहरु नियमित सेवा प्रवाहको कार्यमा फर्किने सहमति भएको छ ।
मन्त्रालयका तर्फबाट महाशाखा प्रमुख डा भीमप्रसाद सापकोटा र एनएमएका तर्फबाट महासचिव सञ्जिब तिवारीले हस्ताक्षर गरेका छन् ।