नीति तथा कार्यक्रमलाई बजेट र कार्यान्वयनमा उतार्नु मुख्य कुरा - सांसद राणा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १९ शुक्रबार
676
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. उदय शमशेर राणाले नीति तथा कार्यक्रमलाई व्यवहारमा उतार्नु मुख्य विषय भएको बताएका छन् । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि संसद् परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले नीति तथा कार्यक्रमलाई कसरी व्यवहारमा उतार्ने, कसरी बजेटमा समावेश गर्ने र कसरी व्यवस्थापन गर्ने भन्ने विषय मुख्य भएको बताए ।
उनले सरकारले पुराना नीति तथा कार्यक्रमहरूलाई पनि समावेश गरेको भन्दै खुशी व्यक्त गरे । उनले प्रत्येक पटक सरकार परिवर्तन हुँदा नयाँ नीति तथा कार्यक्रमहरू आउने र पुराना कार्यक्रमहरूले निरन्तरता पाउन नसक्ने अवस्था पुग्ने गरेको बताउँदै पुराना कार्यक्रमहरूलाई निरन्तरता दिनु सराहनीय भएको जिकिर गरे ।
उनले भने, “राष्ट्रपतिज्यूले नीति तथा कार्यक्रम पढ्नुभयो, त्यसमा मुख्य कुरा चाहिँ हामीले यसलाई व्यवहारमा कसरी उतार्न सकिन्छ, त्यो नीति तथा कार्यक्रमलाई बजेटमा कसरी समावेश गर्न सकिन्छ, यसलाई कसरी व्यवस्थापन गर्ने । यसमा दुई चरण हुन्छ, एउटा बजेटमा कसरी हाल्ने, अर्को यसलाई कार्यान्वयन कसरी गराउन सकिन्छ भन्ने हो । यो गठबन्धनले बनाएको हो, पहिलेका नीति तथा कार्यक्रमहरूलाई पनि निरन्तरता दिएको छ । त्यो पनि जरुरी छ, प्रत्येक पटक सरकार परिवर्तन हुँदा नयाँ नीति तथा कार्यक्रमहरू आए भने पुराना कार्यक्रमहरूले निरन्तरता पाउन सक्दैनन् ।”
उनले सरकारले केन्द्र, प्रदेश र स्थानीय तहको योजनामा दोहोरोपन हटाउन एकीकृत परियोजना बैङ्क लागू गर्ने घोषणा गरेको भन्दै यो प्रभावकारी बन्ने विश्वास समेत व्यक्त गरे ।