arrow

माधव नेपालले केपी ओलीलाई बुझाए मागपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १७ बुधबार
kp-oli-madhav-ncp-as.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेकपा एकीकृत समाजवादीले मुलुकको आर्थिक, सामाजिकलगायत क्षेत्रमा सुधारका लागि आज मागपत्र बुझाएको छ । 

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर सो पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितका पदाधिाकारीले मागपत्र बुझाएका हुन् ।

मागपत्रमा ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ को नाराका साथ कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति, संविधानको पुनरावलोकनका लागि सुझाव दिइएको छ । 

गत चैत १५ गतेको तीनकुने घटनाका क्रममा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएकाले त्यसको उचित क्षतिपूर्तिका लागि पनि अध्यक्ष नेपालले सरकारसँग माग गरे । 

मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पूर्व सन्ध्यामा सुझावहरू प्राप्त भएकामा धन्यवाद दिँदै नीति तथा कार्यक्रमको अन्तिम तयारी भइसकेकाले बजेट निर्माणका क्रममा यी सुझावलाई समेट्ने कोसिस गर्ने विश्वास दिलाउए । 

प्रधानमन्त्री ओलीले प्रतिगामी र अतिवादी तत्वहरूका अवाञ्छित क्रियाकलाप भइरहेको सन्दर्भमा त्यस्ता क्रियाकलापको विरोध हुनुपर्नेमा जोड दिए ।

प्रतिनिधिमण्डलमा अध्यक्ष नेपालका साथ वरिष्ठ नेता प्रवेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षहरू प्रकाश ज्वाला, डा गंगालाल तुलाधर, भानुभक्त जोशी, महासचिव घनश्याम भुसाल, सचिव सावित्राकुमारी भुसाललगायत सहभागी थिए । 

करिब एक घण्टा भएको भेटमा नेताहरूबीच समसामयिक राजनीतिक विषयमा अनौपचारिक कुराकानी र विगतका कतिपय घटनाको स्मरण गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ