रेशम चौधरीलाई पक्राउ गराउने सर्वोच्चका अधिकृत विष्ट पक्राउ, कसको आदेशमा काटे पत्र ?
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १७ बुधबार
1.1k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नू भनी पत्र काट्ने सर्वोच्च अदालतका अधिकृत आफैँ पक्राउ परेका छन् ।
जनमत पार्टीसँग एकीकरण गर्नका लागि प्रज्ञा प्रतिष्ठानको कार्यक्रममा सहभागी भइरहेको बेला उनको पक्राउको पत्र काट्ने सर्वोच्चका अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखिएको छ। विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए । सोही आधारमा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार पत्र लेख्ने विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनले कसको आदेशमा पत्र काटे भन्ने बारेमा अझै खुलेको छैन ।
उनले आफूभन्दा माथिका कुनै अधिकृतसँग छलफल गरेर पत्र काटेको हो कि हैन भन्ने खुलेको छैन ।
तर उनको त्यही पत्रले पार्टी एकता भाँडिएको छ भने सर्वोच्च परिसरमा खैलाबैला मच्चिएको छ ।