दिगो लगानी प्रवर्द्धनका लागि एनएमबि बैंकद्वारा आईएफसी, बीआईआई र मेटलाइफसँग साझेदारी
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १६ मंगलबार
397
Shares
काठमाडौँ। एनएमबि बैङ्कद्वारा अन्तर्राष्ट्रिय निकायहरू आईएफसी, बीआईआई र मेटलाइफसँगको साझेदारीमा नेपालमै पहिलो पटक अमेरिकी डलर ६ करोड बराबरको नेपाली रुपैयाँ अङ्कित हरित वण्ड जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर भएको छ।
यस सहकार्यले जलवायु परियोजनाहरूमा संलग्न उद्यमहरूमा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गुणस्तरीय रोजगारी सृजना हुने लक्ष्य समेत लिएको छ। त्यसै गरी, यसले देशको ऊर्जा क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास बैङ्कको रहेको छ।
यस वण्ड जारी गरी प्राप्त हुने रकम विशेषतः सौर्य ऊर्जा लगायतका नवीकरणीय ऊर्जाहरू, विद्युतीय सवारी, हरित भवन तथा बायोमास जस्ता परियोजनाहरूमा लगानी विस्तार गर्ने लक्ष्य लिएको छ।
उक्त समझदारी पत्र हस्ताक्षर समारोहमा बैङ्कका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलले आफ्नो मन्तव्य राख्दै यस प्रयास मार्फत नवीकरणीय ऊर्जा लगायतका क्षेत्रहरूमा एक परिवर्तनकारी फड्को मारिने विश्वास व्यक्त गरेका छन्। साथै, उनले एनएमबि बैङ्कको यस पहलले विदेशी पुँजीलाई स्वदेशमा भित्र्याई जलवायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभावलाई न्यूनीकरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।