असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने होइन, सम्बोधन गर्नुपर्छ- गगन थापा [भिडियो]
कांग्रेस र एमाले मिलेर बनेको सरकारको मुख्य विषय पनि असन्तुष्टि र बेचैनी हटाउनु रहेको
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १५ सोमबार
889
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले असन्तुष्टिको कारोबार गर्न नहुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले असन्तुष्टिको कारोबार नगर्न र असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने काम नगर्न सचेत गराए ।
उनले राजनीतिक उपलब्धिहरूका सम्बन्धमा आम नागरिकहरूमा सन्तोष रहँदै गर्दा पनि अहिले एउटा ठूलो बेचैनी, असन्तोष रहेको बताए । उनले असन्तुष्टि र बेचैनीको मुख्य कारण राजनीतिक अवस्था पछाडि आम नागरिकहरूको अवस्थामा परिवर्तन नआउनु रहेको बताए । असन्तुष्टि र बेचैनीलाई हटाउन जरुरी रहेको उल्लेख गरे । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको मुख्य विषय पनि असन्तुष्टि र बेचैनी हटाउनु रहेको बताए । सरकारले अर्थतन्त्रमा देखिएका समस्या र सङ्कटलाई समाधान गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘नेपाली कांग्रेस पार्टीले के कुरालाई महसुस गरेको छ भने राजनीतिक उपलब्धिहरूका सम्बन्धमा आम नागरिकहरूमा सन्तोष रहँदै गर्दा पनि आजको दिनमा एउटा ठूलो बेचैनी, असन्तोष देखिन्छ । त्यो असन्तुष्टि र बेचैनीको मुख्य कारण भनेको हामीले सिर्जना गर्ने राजनीतिक अवस्था पछाडि आम नागरिकहरूको अवस्थामा जुन बदलाव आउँछ भन्ने कुराको हामीले वाता गरेका थियौँ । नागरिकले अपेक्षा गर्नुभएको थियो, तदनुरूप हुन सकिरहेको छैन । त्यसको कारणले गर्दा असन्तुष्टि छ । तर यो असन्तुष्टिलाई हटाउनुपर्छ भन्ने हामी ठान्दछौँ । असन्तुष्टिको कारोबार गर्ने होइन । असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने होइन । त्यसलाई सम्बोधन गर्नुपर्छ । बेचैनीलाई हटाउँदै लिएर जानुपर्छ । त्यो बाटोमा अगाडि बढ्नुपर्छ भन्ने हामी ठान्दछौँ । त्यही अनुरूप हामी अब काम गर्न चाहन्छाँै । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको मुख्य विषय पनि यही नै हो । यसको मुख्य प्राथमिकता पनि यही नै हो । यही सोचेर खास गरेर हाम्रो इकोनोमीमा देखिएका जति पनि समस्याहरू छन्, सङ्कटहरू छन्, यसलाई सम्बोधन नगरीकन नागरिकका असन्तुष्टि सम्बोधन हुनै सक्दैन । केही समयअघि संसद्ले केही कानूनहरु पारित गरेको छ । यद्यपि त्यसलाई हामीले प्रारब्धमा मात्रै ठानेका छौँ । त्यो शुरुवात मात्रै हो । त्यसले पोजेटिभ भाइब्ल लिएर आउँछ, त्यो भन्दा बढी होइन । यो समयको हामी प्रयोग गर्न चाहन्छौँ ।’
महामन्त्री थापाले नेकपा एमालेसँग भएको सहकार्यअनुसार नै अघि बढ्ने र सङ्घ वा प्रदेश कतै पनि राजनीतिक अस्थिरतामा नलाग्ने स्पष्ट पारे । सरकारमा बस्नका लागि मात्रै नभई परिणाम दिने गरी काम गर्न आवश्यक रहेको बताए ।