काठमाडौँ । आईपीएल १८ को ४१औँ खेलमा मुम्बई इन्डियन्स (एमआई) ले सनराइजर्स हैदराबाद (एसआरएच) लाई ७ विकेटले पराजित गरेको छ।
हैदराबादको राजीव गान्धी स्टेडियममा भएको खेलमा हैदराबादले १४३ रन बनाएको थियो। जवाफमा मुम्बईले कप्तान रोहित शर्माको लगातार दोस्रो अर्धशतकको मद्दतले १६औँ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
बुधबारको खेलमा केही रोचक क्षण र कीर्तिमानहरू बने। पहलगाममा भएको आतङ्कवादी हमलाप्रति श्रद्धाञ्जली अर्पण गर्दै खेलाडीहरूले कालो पट्टी बाँधेर मैदानमा उत्रेका थिए।
हैदराबादका हेनरिक क्लासेनले १०७ मिटर लामो छक्का प्रहार गरे। उनले मुम्बई इन्डियन्सका लागि सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान पनि बनाए।
मुम्बई इन्डियन्सका तीव्र गतिका बलर जसप्रित बुमराहले आईपीएलमा मुम्बईका लागि सर्वाधिक विकेट लिने मामिलामा लसिथ मलिंगाको बराबरी गरे। उनले टी-२० क्रिकेटमा आफ्नो ३००औँ विकेट पनि पुरा गरे।
मुम्बईका ओपनर रोहित शर्मा टी-२० क्रिकेटमा १२ हजार रन बनाउने दोस्रो भारतीय खेलाडी बनेका छन्। उनीभन्दा अघि विराट कोहलीले यो उपलब्धि हासिल गरेका थिए।
रोहितले ९ वर्षपछि लगातार दुई आईपीएल खेलमा अर्धशतक बनाएका छन्। हिजो उनले ७० रन बनाए भने अप्रिल २० मा चेन्नईविरुद्ध अविजित ७६ रनको पारी खेलेका थिए। यसअघि २०१२ मा रोहितले यस्तो प्रदर्शन गरेका थिए।
यो जितसँगै मुम्बई १० अङ्कसहित अङ्कतालिकाको तेस्रो स्थानमा पुगेको छ । सनराइजर्स नवौँ स्थानमा छ ।