arrow

शिक्षामन्त्रीले अपमान सहन नसकेर भारी बिसाएको कि ‘बाइपास’ भएर ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ८ सोमबार
vidya-bhattarai-edu-min.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफू बालुवाटारमा रहने दिन गनिरहेका छन् । उनी नेपाली कांग्रेससँगको सम्बन्ध कतिबेला टुट्ने हो भन्नेमा चिन्तित छन् । किनकि उनी आफैँ कुन तालमा अगाडि बढिरहेका छन् भन्ने भेउ पाउन छाडिसकेका छन् । 

त्यसको उदाहरण सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अचानक दिएको राजीनामाले नै स्पष्ट पार्छ । नेपाली राजनीतिका लागि उनको राजीनामा अचानक आएको देखिएको भए पनि पछिल्लो समय आफ्नै पार्टीको अध्यक्ष एवं प्रधानमन्त्री ओलीबाट बाइपासमा परेपछि सांसदसमेत रहेकी विद्याले मन्त्री पदबाटै राजीनामा दिएकी हुन् । 

एकातिर शिक्षकहरु एसईईका कपी जाँच गर्न छाडेर र १२ को परीक्षालाई बेवास्ता गर्दै सडक संघर्षमा छन् । उनीहरु २० दिनदेखि निरन्तर संघर्ष गरिरहेका छन् । 

सरकारले बीचबीचमा शिक्षकहरुसँग छलफल पनि गरेकै हो । त्यतिमात्र होइन शुक्रबार राति त प्रधानमन्त्री ओलीलेसमेत शिक्षकहरुसँग बालुवाटारमा छलफल गरे । 

तर ती कुनै पनि छलफलमा शिक्षामन्त्रीको भूमिका कतै देखिएन । उनलाई छलफलमा सहभागी नै गराइएन । प्रधानमन्त्रीले भन्दा अगाडि उनै शिक्षामन्त्री भट्टराईले नै वार्ताको पहल गर्नुपर्ने थियो । 

संसदीय समितिमा जारी विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफलको पृष्ठभूमिमा शिक्षामन्त्रीले नै सोमबार अपराह्न अचानक राजीनामा दिनुले उनी कत्तिको तनावमा रहिछिन् भन्ने स्पष्ट पार्छ । 

सांसद बन्नअघि क्याम्पसकी अध्यापक उनलाई पनि लागेको थिएन होला कि यसरी अपमानित हुनुपर्छ । 

अहिलेमात्र होइन प्रधानमन्त्रीले अचानकसँग शिक्षामन्त्री विद्यासँगको दूरी यसअघिदेखि नै बढाउँदै लगेका थिए । त्यसको पीडा उनले सहँदै आएकी थिइन् । चिसोपना बढी भए पनि उनले ओकल्न सकेकी थिइनन् । 

त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले राजीनामा बुझाउँदा पनि भट्टराई राजीनामा फिर्ता गर्नुपर्ने अडानमा थिइन् । ओलीको मत फरक थियो । विद्यालाई चिसो पर्नेगरी ओलीले बरालको राजीनामा स्वीकृत गरिदिए । केही दिनपछिमात्र उनले उपकुलपति तोके । शिक्षामन्त्रीसँग सल्लाहसमेत लिएनन् । 

त्रिविमा मात्र होइन भट्टराईले काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिमा पनि असहमति जनाएकी थिइन् । आखिर किन बाउँडिए ओली भट्टराईसँग ? 

केही एमालेका नेताहरुको बुझाइमा भट्टराई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी निकट रहेकाले पनि उनीसँग रुष्ट भएको हो कि भन्ने शंकाको लाभ लिइरहेका छन् । 

त्यसो त भट्टराईले संसद्‍को शिक्षा, स्वास्थ्य समितिमा विद्यालय शिक्षा विधेयकका पेचिला दफामा आफ्नो अडान राम्रोसँग राख्दै अगाडि बढिरहेकी थिइन । तर उनलाई शिक्षकलेसमेत वास्ता नगरेको आरोप छ । 

अब प्रश्न यहाँनेर आउँछ कि मन्त्री बन्नलाई हानथाप गर्ने चलन नै छ । यस्तो अवस्थामा आफ्नै पार्टीको प्रधानमन्त्री भएका बेलामा उनलाई अप्ठेरो लाग्नुपर्ने अवस्था कहाँबाट आयो ? 

अर्कातर्फ शिक्षकले नै वास्ता नगरेका हुन् भने प्रधानमन्त्रीले बालुवाटारको बैठकमा त शिक्षामन्त्री भट्टराईलाई साथमा राख्न सक्थे । आखिर किन त्यसो गरेनन् ? 

प्रधानमन्त्री निकटका एक नेताका अनुसार भने अहिले विगतका कुनै पनि कुरा नभइ शिक्षकहरुको हेपाहा प्रवृत्ति सहन नसकेरै उनले राजीनामा दिएको अर्थ लगाइएको छ । 

आखिर जेसुकै होस् ठूलै भारी बिसाइन् शिक्षामन्त्री भट्टराईले । आफै अध्यापन पेशामा लागेसँगै उनले शिक्षकका मागका सम्बन्धमा पनि विचार गरेकै थिइन् । तर राजीनामा नै दिनुपर्ने अवस्था आएपछि यसले दिने सन्देश भने पक्कै गतिलो जाने छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ