एनसेल एनएसएलमा पोखरा दोस्रो क्वालिफायरमा, बाहिरियो चितवन [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ७ आइतबार
885
Shares
काठमाडौँ । पोखरा थन्डर्स एनसेल नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार बेलुकी सम्पन्न इलिमिनेटर खेलमा एफसी चितवनलाई ३–० ले पराजित गर्दै पोखरा दोस्रो क्वालिफायरमा पुगेको हो ।
योसँगै फाइनल प्रवेश गर्न पोखराले साविक उपविजेता धनगढी एफसीसँग खेल्ने छ । धनगढी पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसीसँग २–१ ले पराजित भएको थियो ।
पोखराका लागि जोय आइडूले दुई गोल गर्दा एक गोल भने उपहार पाएको थियो । योसँगै पोखराले जारी तेस्रो संस्करणमा चितवनसँग २–० को हार बेहोर्दै प्रतियोगिताको शुरुआत गरेको भए पनि त्यसको बदला निकै निर्मम तरिकाले लिएको छ ।
पोखराले १३ मिनेटको अन्तरमा तीन गोल गर्दै जित हासिल गरेको हो । ६३ औँ मिनेटमा चितवनका अभिषेक लिम्बूले आत्मघाती गोल गरेको ९ मिनेटपछि आइडूले अग्रता दोब्बर बनाए । त्यसको चार मिनेटपछि नै उनले अर्को गोल थपे ।