arrow

रोबर्टो कार्लोस बिमार, शुक्रबार नेपाल नआउने, एनसेल एनएसएलको फाइनलसम्म ल्याउने प्रतिबद्दता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ४ बिहिबार
roberto-carlos-breazil.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । एनसेल नेपाल सुपर लिग (एनएसएल) ले फुटबलका महान हस्तीहरूमध्ये एक ब्रजिलियन फुटबल लिजेन्ड रोबर्टो कार्लोसलाई स्वागत गर्ने निश्चित भएको छ । तर उनी शुक्रबार नै नेपाल आउने कार्यक्रम भने रद्द भएको छ । 

उनी बिमार भएपछि उनको शुक्रबार नै नेपाल आउने कार्यक्रम स्थगित भएको आयोजकले जनाएको छ । शनिबार हुने खेलका विशेष अतिथिका रुपमा उनी आउँदै थिए । तर अचानक बिमार भएपछि शुक्रबार नआउने तर फाइनलसम्म जसरी पनि ल्याउने आयोजकले जनाएको छ । 

आयोजकले दर्शकलाई निराश नहुन आग्रह गर्दै यदि शनिबारको टिकट फिर्ता गर्न चाहे फिर्ता हुनेसमेत बताएको छ । साथै उक्त टिकट होल्ड गरेर फाइनलसम्म राख्न चाहे पनि राख्न सकिनेसमेत जनाएको छ । 

को हुन् कार्लोस ?
फुटबलका ग्लोबल आइकन रोबर्टो कार्लोस आफ्नो शक्तिशाली फ्रिकिक, गति र मैदानमा अतुलनीय ऊर्जाका लागि परिचित छन् । स्पेनिश क्लब रियाल मड्रिड र ब्राजिलियन राष्ट्रिय टोलीका पूर्व खेलाडीसमेत रहिसकेका कार्लोस फुटबल इतिहासका सबैभन्दा प्रशंसित डिफेन्डरहरू मध्ये एक हुन्। 

फिफा विश्वकप र चार ला लिगा उपाधिहरू सहित दुई दशकभन्दा लामो व्यावसायिक फुटबल खेलमा उनले विश्वभरका लाखौं फुटबल प्रेमीहरूलाई प्रेरित गरेका छन्।

कार्लोसको उपस्थितिबाट एनएसएल मञ्चमा जोश र उत्साह छाउने अपेक्षा गरिएको छ। रोबर्टो कार्लोसको नेपाल भ्रमण नेपाली फुटबलका लागि गर्विलो क्षण हो। एनएसएलमा उनको उपस्थितिले विश्व फुटबलको नक्सामा हाम्रो लिगको पहिचान अझै उजागर हुनेछ। एनसेल एनएसएलमा कार्लोसको उपस्थिति लिगको लागि एक ठूलो उपलब्धि र देशको लागि पनि गर्वको क्षण हो।

नेपालको प्रमुख फ्रेन्चाइज-आधारित फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) ले देशभरका शीर्ष प्रतिभाहरूलाई एकै ठाउँमा ल्याइरहेको छ। रोमाञ्चक खेलहरू, उत्साही फ्यानहरू र अब रोबर्टो कार्लोसको उपस्थितिसँगै यो सिजन अहिलेसम्मकै सबैभन्दा ठूलो सावित हुँदैछ । खेलका टिकटहरू खरिदका लागि खल्ती एपमा उपलब्ध हुनेछन्। प्रशंसकहरूले फोनबाट सजिलै आफ्नो टिकट बुक गर्न सक्नेछन्।

शनिबारको भिडन्त
लिगका दुई लोकप्रिय र बलिया टोलीहरू ललितपुर सिटी फुटबल क्लब र धनगढी फुटबल क्लबबीच हुने यो भिडन्त केवल एक खेल मात्र नभई गत वर्षको फाइनलको पुनरावृत्ति पनि रहने छ । 

दुई पटक फाइनलमा पुगेको धनगढी एफसी अझै आफ्नो पहिलो एनएसएल उपाधिको खोजीमा छ, जबकि ललितपुर सिटी एफसी आफ्नो उपाधि रक्षा गर्ने तयारीका साथ डिफेन्डिङ च्याम्पियनको रूपमा मैदानमा प्रवेश गर्नेछ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ