काठमाडौँ ।लखनउ सुपरजायन्ट्स (एलएसजी) ले आईपीएल १८ को ३६औँ खेलमा राजस्थान रोयल्स (आरआरु) लाई नाटकीय रूपमा २ रनले हराएको छ। तीव्र प्रतिस्पर्धात्मक खेलमा आवेश खानले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै लखनउको जित सुनिश्चित गरे।
सवाई मानसिंह स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रेको राजस्थान रोयल्सले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १७८ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक रहेको अवस्थामा राजस्थानले लक्ष्य भेट्टाउन सकेन।
खेलमा १४ वर्षीय वैभव सूर्यवंशीले आईपीएलमा डेब्यु गर्दै सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाए। उनले आफ्नो पहिलो बलमै छक्का प्रहार गरे पनि पछि आउट हुँदा भावुक देखिएका थिए। राजस्थानका ध्रुव जुरेलले उत्कृष्ट क्याच लिए भने लखनउका शुभम दुबेले एक महत्वपूर्ण क्याच छोडेका थिए।
जारी सिजनमा राजस्थान रोयल्सको यो पाँचौं हार हो र टोली अंक तालिकाको आठौं स्थानमा छ। लखनउ सुपरजायन्ट्सले भने आठ खेलमा पाँचौं जित दर्ता गर्दै तालिकाको चौथो स्थानमा आफ्नो पकड बलियो बनाएको छ।