एनसेल एनएसएलको पहिलो क्वालिफायरमा ललितपुर र धनगढी भिड्दै, झझल्को गत वर्षको फाइनलको
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ६ शनिबार
560
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । एनसेल नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा शनिबार ललितपुर सिटी एफसी र धनगढी एफसी भिड्दै छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेदेखि शुरु हुने यो खेललाई गत वर्षको फाइनल खेलको झझल्कोका रुपमा लिइएको छ । गत वर्षको उपाधि ललितपुरले जितेको थियो ।
यसपालि बदला लिन धनगढीलाई राम्रो अवसर हुनेछ । यी टोलीले लिग चरणमा गोलरहित बराबरी खेलेका थिए। यद्यपि ललितपुर १२ र धनगढी ११ अंकसहित प्लेअफमा पुगेका हुन् ।
यो खेलको विजेता फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले फाइनलका लागि इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्न पाउने छ ।
इलिमिनेटरमा पोखरा थन्डर्स र चितवन एफसी आइतबार खेल्दैछन् ।
ललितपुर र धनगढी समीकरण
दुई टोली अहिलेसम्म चार पटक आपसमा भिडिसकेका छन् । तीमध्ये तीन खेल बराबरीमा सकिएको छ भने एकमा ललितपुरले जित हात पारेको छ ।
यस अर्थमा दुवै टोलीबीचको भिडन्त निकै कडा हुनेछ । पहिलो संस्करणमा यी दुई टोलीले लिग चरणमा १–१ को बराबरी खेलेका थिए ।
दोस्रो संस्करणमा भए लिग चरणमा यी दुई टोलीले गोलरहित बराबरी खेले। तर फाइनलमा ललितपुरले धनगढीलाई ३–२ ले हरायो ।
यसपालिको तेस्रो संस्करणको लिग चरणमा गोलरहित बराबरी खेलेका छन्।
धनगढी अहिलेसम्म दुई पटक फाइनलमा पुगेको छ । उपाधि जित्न सकेको छैन । ललितपुरले पहिलो पटकमै फाइनलमा पुगेर उपाधि हासिल गरेको थियो ।