गभर्नर बन्ने लक्ष्यसहित राष्ट्र बैंकका निर्देशक भट्टले दिए राजीनामा
आईजीपीमा अहिलेदेखि नै सेटिङ
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ५ शुक्रबार
822
Shares
काठमाडौँ । गभर्नर बन्ने उदेश्यसहित नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टले आफनो पदबाट राजीनामा दिएका छन् ।
हाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका उनले शुक्रबार बिहान कायमुकायम गभर्नर निलम ढुंगाना तिम्सिनासमक्ष राजीनामा पेश गरेका हुन्।
नेपाली कांग्रेस र नेकपा एमालेबीच भट्टलाई गभर्नर बनाउन लागिएको चर्चा परिचर्चा चलिरहेको बेला उनले आज राजीनामा बुझाएका हुन् ।
तर कामु गभर्नर तिम्सिनाले भने अझै उनको राजीनामा स्वीकृत गरिसकेकी छैनिन् ।
यता, एमाले र कांग्रेसबीचको सहमतिअनुसार आईजीपीकोसमेत सहमति भइसकेको बताइन्छ ।
प्रहरी महानिरीक्षकमा अहिले नै सेटिङ
उक्त सहमतिअनुसार अबको प्रहरी महानिरीक्षक (आईजीपी) एआईजीमा बढुवा सिफारिस भएका राजन अधिकारीलाई बनाउने गरी तयारी भएको स्रोतको दाबी छ ।
बुधबार नेपाल प्रहरीका छ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएको थियो ।
बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा डीआईजी चन्द्रकुबेर खापुङ छन् । यस्तै लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा मनोजकुमार केसी क्रमशः दोस्रोदेखि छैटौँ नम्बरमा सिफारिस भएका हुन् ।
एक महिनादेखि अर्थात् गत चैत ५ गतेदेखि एआईजी पद रिक्त छ । तिनै रिक्त पदमा उनीहरूलाई सिफारिस गरिएको हो ।
अब यिनै एआईजीमध्येबाट आईजीपी हुनेछन् । जसमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजन अधिकारीसँगै दानबहादुर कार्कीलाई अगाडि सार्न सक्ने देखिएको छ ।
तर स्रोत भन्छ, ‘अधिकारी बढी पावलफुल भएको पाइएको छ । त्यतै पो जाला जस्तो छ ।’
हालका आईजीपी दीपक थापाको कार्यकाल आगामी भदौ १८ गतेसम्म रहेकाले त्यसपछिको आईजीपीका लागि अहिलेदेखि नै सेटिङ भएको हो ।
सत्ता गठबन्धनमा खटपट आयो भनेसँगै कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबीच गम्भीर छलफल भएको थियो । सो छलफलपछि गभर्नरको विवाद समाधान भएको दाबी गरिएको थियो ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारी बिदा हुनुअघि नै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने भए पनि सिफारिस समिति नै अलमलमा परेसँगै सत्ता गठबन्धनमा खटपट भएको चर्चा बाहिर आएको थियो ।