आईपीएलकै दोस्रो ठूलो रन चेज गर्दै हैदराबादले हरायो पञ्जाबलाई
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३१ आइतबार
755
Shares
काठमाडौँ । सनराइजर्स हैदराबादले शनिबार इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा दोस्रो ठूलो रन चेज गर्दै शानदार जित हासिल गरेको छ। टोलीले पञ्जाब किंग्सविरुद्धको खेलमा २४६ रनको विशाल लक्ष्य १८.३ ओभरमै पुरा गर्यो। खेल राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा भएको थियो।
हैदराबादका ओपनर अभिषेक शर्माले अविश्वसनीय ब्याटिङ गर्दै आफ्नो आईपीएल करियरको पहिलो शतक बनाए। उनले ५५ बलमा १४ चौका र १० छक्काको मद्दतले १४१ रनको उत्कृष्ट पारी खेले।
हैदराबादका लागि अर्का ओपनर ट्राभिस हेडले पनि ६७ रनको महत्त्वपूर्ण योगदान दिए। उनीहरूले पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए। पञ्जाब किंग्सका बलर हर्षल पटेलले ४ विकेट लिए पनि टोलीलाई हारबाट बचाउन सकेनन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाब किंग्सले कप्तान श्रेयस अय्यरको ८२ रनको मद्दतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २४५ रन बनाएको थियो।
आईपीएल इतिहासमा सबैभन्दा ठूलो रन चेजको कीर्तिमान पनि पञ्जाब किंग्सकै नाममा छ। टोलीले गत वर्ष कोलकातामा कोलकाता नाइट राइडर्स (केकेआर) विरुद्ध २६२ रनको लक्ष्य सफलतापूर्वक पछ्याएको थियो। त्यस खेलमा पनि कोलकाताको कप्तानी श्रेयस अय्यरले नै गरिरहेका थिए। यसरी आईपीएल इतिहासका दुई सर्वाधिक सफल रन चेज श्रेयसको कप्तानीमा रहेका टोलीविरुद्ध नै भएको छ।