प्रहरीले भन्यो - दुर्गा प्रसाईँ र अङ्गरक्षक दीपक खड्का पक्राउ परे
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २९ शुक्रबार
836
Shares
काठमाडौँ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा फरार रहेका दुर्गा प्रसाईँ र उनका अङ्गरक्षक दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै उनीहरूलाई पक्राउ गरिएको जानकारी दिएको हो।
प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइए अनुसार, प्रसाईँ र खड्कालाई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइँदै छ।
विज्ञप्तिमा भनिएको छ,' मिति २०८१।१२।१५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा फरार रहेका दुर्गा प्रसाईँ र उक्त घटनामा संलग्न निजका अङ्गरक्षक दीपक खड्कालाई आज मिति २०८१।१२।२९ गते झापा जिल्लाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी काठमाडौं ल्याइँदै गरिएको ब्यहोरा जानकारी गराइन्छ ।'
राजावादीको हिंसात्मक प्रदर्शनका मुख्य कमाण्डर प्रसाईँलाई यसअघि भारतमा पक्राउ गरी आज काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको थियो। नेपाल प्रहरीको विशेष ब्यूरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट उनलाई पक्राउ गरेको हो। प्रसाईँको खोजीमा विगत एक सातादेखि भारतको आसामस्थित गुवाटीमा रहेका नेपाली सुरक्षाकर्मीले उनको अवस्थिति पत्ता लगाई भारतीय प्रहरीलाई सूचना दिएका थिए। त्यसपछि बिहीबार उनलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो र बिहीबार साँझ नै उनलाई नेपालतर्फ पठाइएको थियो।
प्रहरीले प्रसाईँ र खड्कालाई नियन्त्रणमा लिएर तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन र त्यसमा उनीहरूको संलग्नता बारे थप अनुसन्धान गर्ने जनाएको छ।