बारमा लोकतान्त्रिक समूहको क्लिनस्वीप, संविधान संशोधनमा सघाउने मिश्रको भनाइ [नतिजा पूर्ण विवरण]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २८ बिहिबार
832
Shares
काठमाडौँ । नेपाल बार एसोसिएसनमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानून व्यवसायी समूहले क्लिनस्वीप गरेको छ । लोकतान्त्रिक समूहले सबै २५ कार्यसमितिमा कब्जा जमाएको हो ।
मतको अन्तिम परिणामअनुसार ७ हजार ९९५ मत खसेमध्ये अध्यक्षमा वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रले ५०५२ मत ल्याए भने व्यवसायिक समूहका अध्यक्षका उम्मेदवार रमन श्रेष्ठले २६२१ मतमात्र ल्याए ।
बारमा अध्यक्षका लागि समूहगत दुई र स्वतन्त्र तीन जना गरी पाँच जनाबीच भिडन्त भएको थियो । अधिवक्ता आषिश पौडेलले ५४ अधिवक्ता राजु कैतीले ४८ र अधिवक्ता उज्वल घिमिरेले ४५महा मत पाएका छन् ।
महासचिवमा वअ केदारप्रसाद कोइरालाले ४८७४ तथा कोषाध्यक्षमा वअ जगतबहादुर कार्की ५०८७ मतसहित विजयी भए । उपाध्यक्षमा कोशीमा पदमप्रसाद लिम्बू, मधेसमा अजयशंकर झा, बागमतीमा तेजबहादुर रावल, गण्डकीमा भुपेन्द्र खनाल, लुम्बिनीमा कृष्णप्रसाद पोखरेल, कर्णालीमा विवशकुमार बस्नेत, सुदूरपश्चिममा सिद्दराज ओझा तथा महिला खुलामा सरस्वती श्रेष्ठ विजयी भइन् ।
बारमा नेपाली कांग्रेस निकट र नेकपा एमाले निकट अधिवक्ताहरुको प्रतिस्पर्धा हुँदै आएकामा यसपालि कांग्रेस र एमालेबीच नै गठबन्धन भएपछि माओवादी र नेकपा एस निकटको गठबन्धन कमजोर भएको हो ।
प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार नौ हजार ९५७ मतदाता रहेकामा ७ हजार ९९५ मत खसेको थियो ।
बारको २५ नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।
मिश्रको प्रतिक्रिया
अध्यक्षमा विजयी भएसँगै प्राडा वअ विजयप्रसाद मिश्रले संविधान संशोधनमा रचनात्मक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले स्वतन्त्र न्यायपालिकाको वास्तविक रूपमा स्थापित गर्न र स्वच्छ न्यायपालिकाको स्थापनाका लागि पहल गर्नेसमेत बताएका छन् ।
उनले लयर्स एकेडेमीको स्थापना गरेर कानून व्यवसायीहरूको अध्ययन प्रशिक्षण तथा तालिमका लागि पर्याप्त अवसरको व्यवस्था मिलाउनेसमेत प्रतिबद्ता जनाएका छन् ।