सरकारले आपतकाल घोषणा गर्ने सम्भावना देखाएन, आफ्नो ज्यान आफैँ जोगाउनु
वायु प्रदूषणले रोग बढायो, सकभर घरबाट बाहिर ननिस्कौँ, निस्कनै परे मास्क लगाउने, चस्मा लगाउने, शरीर ढाक्ने गरौँ
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २७ बुधबार
1.2k
Shares
काठमाडौँ । चैत महिना लागेदेखि नेपालमा प्रदूषण बढेको छ । वायु प्रदूषणका कारण काठमाडौँ लगायतका अन्य सहरहरुको जनजीवनमा असर पर्दै आएको छ । वायु प्रदूषणले बालबालिका तथा वृद्धवृद्धामा झनै असर गरेको छ । वृद्धवृद्धामा स्वासप्रश्वासको समस्या बढी देखिएको छ । दमका रोगीमासमेत यसले समस्या ल्याएको छ ।
त्यसैगरी छालाको रोगसँगै आँखाका रोगीको संख्या दिनानुदिन बढ्दो छ । सुख्खापनका कारणले गर्दा शारीरिकसँगै मानसिक चिन्तासमेत थपिँदै गएको चिकित्सकहरु बताउँछन् ।
वर्षा भएका खण्डमा वायु प्रदूषण कमी हुने भए पनि तत्काल ठूलो वर्षा हुने सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । खडेरीका कारणले प्रदूषण बढेको हो ।
त्यसमाथि थपिएको छ आगलागी, डढेलो, सवारी साधनको प्रदूषण, निर्माणका कारण थपिएको कंक्रिटको प्रदूषण आदि । यी थपिएका प्रदूषण हामी आफैँले पनि कम गर्न सक्ने प्रदूषण हुन् ।
सरकारले चाहने हो भने यी प्रदूषणलाई कम गर्न सक्छ । जतिसुकै प्रदूषण भए पनि सरकारको यतातर्फ ध्यान जान सकेको छैन । न त हिजोका दिन गएको थियो न त आज नै छ ।
सरकारले चाहने हो भने निर्माणका कामलाई कम गर्न सक्छ । नागरिकलाई पनि तत्काल घर बनाएर हुने प्रदूषण रोक्न अपील गर्न सक्छ । सवारी साधनको प्रयोग कम गर्न सकिन्छ ।
प्रदूषणले मुलुक अस्तव्यस्त भएका बेलामा स्वास्थ्यको ख्याल गर्दै विशिष्टहरूको यात्रालाई रोक्न सकिन्छ । दलीय भाषणबाजी र ओहोरदोहोरका गतिविधि कम गर्न सकिन्छ । नेताहरू बाहिर कम निस्किए कार्यकर्ता पनि बाहिर निस्कन पर्ने थिएन । हरेक चिजको समय हुन्छ । यो सही समय होइन ।
कार्यकर्तालाई भाषण सुनाउन भेला गर्नु भन्दा हरेक तहमा दलका कार्यकर्तालाई आगलागी र डढेलोलाई नियन्त्रण गर्नका लागि खडेआम रहन निर्देशन दिन सकिन्छ ।
कार्यालयमा प्रयोग हुने सवारीमा कमी ल्याउन सकिन्छ । अत्यावश्यकीय बाहेकका सवारीमा रोक लगाउन सकिन्छ । कलकारखाना अत्यावश्यकीय बाहेकको उत्पादन तत्काल नगर्न निर्देशन दिन सकिन्छ ।
तर सरकारले यतातर्फ ध्यान दिएको छैन । नेपालमा वातावरणविद्हरू छन् । या त उनीहरूले सरकारलाई सही सुझाव दिएका छैनन् या सरकारले सुझावलाई बेवास्ता गरिरहेको छ ।
सबैभन्दा ठूलो स्वास्थ्य हो । स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सरकारले काम नगर्ने हो भने बिग्रेको स्वास्थ्य बनाउन फेरि झनै ठूलो धनराशि खर्च हुन्छ । त्यतिमात्र होइन त्यो खर्चले बिमारी निको हुने कुनै दाबी हुँदैन ।
वायु प्रदूषणले रोग बढायो । सकभर घरबाट बाहिर ननिस्कौँ । निस्कनै परे मास्क लगाउने, चस्मा लगाउने र शरीर ढाक्ने गरौँ । आफ्नो ज्यान आफैँ जोगाऔँ ।
नागरिक अत्यासमा रहेको अवस्थामा सरकारले तत्काल आपतकालको घोषणा गरी यथोचित कदम चालोस् । नागरिकले पनि अत्यावश्यक परे बाहेक बाहिर ननिस्कौँ । घरमै रहेर शरीर जोगाऔँ ।