काठमाडौँ ।पञ्जाब किंग्सले मंगलबार राति भएको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को खेलमा चेन्नई सुपर किंग्सलाई १८ रनले पराजित गरेको छ। पञ्जाबले दिएको २२० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन मात्र बनाउन सक्यो। यो चेन्नईको जारी सिजनमा लगातार चौथो हार हो।
पञ्जाबका युवा ब्याट्सम्यान प्रियांश आर्याले ४२ बलमा १०३ रनको शानदार शतकीय पारी खेले। उनले ३९ बलमै आफ्नो शतक पूरा गरेका थिए। आर्याको उत्कृष्ट ब्याटिङको मद्दतले पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर २१९ रन बनाएको थियो। शशांक सिंहले ५२ र मार्को यानसनले अविजित ३४ रनको योगदान दिए।
जवाफी ब्याटिङमा उत्रिएको चेन्नईका लागि डेभोन कन्वेले ४९ बलमा ६९ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। शिवम दुबेले २७ बलमा ४२ रन र महेन्द्र सिंह धोनीले १२ बलमा २७ रन बनाए पनि अन्य ब्याट्सम्यानको सहयोग नपाउँदा चेन्नई पराजित भयो। पञ्जाबका लोकी फर्ग्यूसनले २ विकेट लिए।
प्रियांश आर्यालाई उनको उत्कृष्ट शतकीय पारीका लागि प्लेयर अफ द म्याच घोषित गरियो। यो जितसँगै पञ्जाब ४ खेलमा ६ अंकसहित अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ भने चेन्नई ५ खेलमा २ अंकसहित नवौं स्थानमा छ।