सरकार विद्युत् प्राधिकरण र गभर्नरको पछि लागिरहेको छ - माओवादी केन्द्र [भिडियो]
वर्तमान सरकार खालि सेटिङको पछि मात्र दौडिरहेको आरोप
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २२ शुक्रबार
651
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्नेभन्दा पनि विद्युत् प्राधिकरण र राष्ट्र बैङ्कको गभर्नरको पछि मात्र लागेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पाण्डेले वर्तमान सरकार खालि सेटिङको पछि मात्र दौडिरहेको आरोप लाग्ने गरेको समेत टिप्पणी गरे ।
तस्करी रोक्दै जनतामा रहेको निराशा चिर्न सरकारको योजना के छ ? उनको प्रश्न छ । उनले आन्दोलनरत शिक्षक, मिटरब्याज पीडित र सहकारी पीडितहरूका समस्या समाधान गर्न समेत सरकारको ध्यानाकर्षण गराए ।
उनलरे तीनकुने प्रदर्शनका क्रममा सरकार र सुरक्षा संयन्त्रको गम्भीर त्रुटि भएको बताए ।प्रदर्शनकारीलाई आन्दोलनका लागि तीनकुने क्षेत्र नै किन दिइएको ? भन्दै प्रश्न समेत गरे ।
उनले भने, ‘सरकार त अहिले विद्युत् प्राधिकरण र राष्ट्र बैङ्कको गर्भनरतिर मात्र लागिरहेको छ । खालि अहिले त सेटिङको कुरा मात्र आइरहेको छ । अलिकति बिचौलियाहरूको पनि कुरा आइरहेको छ । मुलुकमा सुशासन कायम गर्ने र जनताको आक्रोश कहाँ छ र त्यसलाई कम गर्ने भन्नेतिर भन्दा पनि तस्करीलाई रोक्नेभन्दा पनि सरकार के गरेर बसेको छ ? यसबारे सरकारको के भनाइ हो । जनतामा रहेको निराशा र आक्रोश जुन छ यसलाई सरकारको के योजना छ ? अहिले शिक्षक, मिटरब्याज पीडित र सहकारी पीडित लगायतका आन्दोलनहरू भइरहेका छन् । उनीहरूले उग्र रूप लिए भने त गाह्रो हुन्छ यसबारे सरकारको के भनाइ हो ?’