आईपीएलमा हैदराबादमाथि कोलकाताको सहज जित, ८० रनले हरायो
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २२ शुक्रबार
319
Shares
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा कोलकाता नाइट राइडर्स (केकेआर) ले सनराइजर्स हैदराबाद (एसआरएच) लाई ८० रनले पराजित गर्दै सहज जित दर्ता गरेको छ। लगातार तेस्रो हार बेहोरेको हैदराबादको प्रदर्शन निकै निराशाजनक रह्यो।
ईडन गार्डेन स्टेडियममा भएको खेलमा कोलकाताले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०० रनको विशाल स्कोर खडा गरेको थियो। कोलकाताका लागि वेंकटेश अय्यरले २९ बलमा ६० रनको विस्फोटक पारी खेले भने युवा ब्याट्सम्यान अंगकृष रघुवंशीले ३२ बलमा ५० रनको योगदान दिए। कप्तान अजिंक्य रहाणेले ३८ र रिंकु सिंहले अविजित ३२ रन बनाए। हैदराबादका बलरहरूले राम्रो प्रदर्शन गर्न सकेनन् र उनीहरूले ५ जनाले एक-एक विकेट लिए।
२०१ रनको विशाल लक्ष्य पछ्याएको हैदराबादको ब्याटिङ पुरै असफल भयो। हैदराबादको टोली १६.४ ओभरमा मात्र १२० रनमा अलआउट भयो। हैदराबादबाट हेनरिक क्लासेनले ३३ र कमिन्दु मेन्डिसले २७ रन बनाए। कोलकाताका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे र वरुण चक्रवर्ती र वैभव अरोराले ३-३ विकेट लिए। आन्द्रे रसेलले पनि २ विकेट लिए। यो जितसँगै कोलकाता ४ अंकसहित अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। हैदराबादले भने लगातार तेस्रो हार बेहोरेको छ र अंक तालिकाको १० औं स्थानमा झरेको छ।