संविधान जीवित रहेसम्म राजतन्त्र फर्किंदैन - पुर्व मुख्यमन्त्री थापा
रामकुमार परियार,
प्रकाशित २०८१ चैत २२ शुक्रबार
924
Shares
मोरङ । कोशी प्रदेशका पुर्व मुख्यमन्त्री एवम् नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्वव थापाले नेपालमा संविधान जीवित रहेसम्म राजतन्त्र नफर्किने दाबी गरेका छन् ।
कांग्रेस कोशी प्रदेशको संगठन विभागद्वारा बिहीबार मोरङको डाईनियाँमा आयोजित अन्तरक्रियामा बोल्दै थापाले लोकतन्त्रको विकल्प लोकतन्त्र रहेको उल्लेख गर्दै अब कुनै पनि हालतमा राजतन्त्र फर्किन नसक्ने जिकिर गरे ।
लोकतन्त्रमाथि पटकपटक आक्रमण भएको स्मरण गराउँदै थापाले यसको रक्षाका निम्ति सबै नेता , कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने उनको भनाई थियो । "लोकतन्त्रमा असल कर्म गर्नेहरुको अस्तित्व रहिरहन्छ , खराबहरु आफै मेटिन्छन" थापाले भने ।
'संगठनको वर्तमान अवस्था , चुनौती र निराकरणको उपाय' विषयक अन्तरक्रियामा प्रमुख अतिथिका रूपमा सहभागी थापाले गठबन्धनको प्रदेश सरकारले ल्याउन लागेको महत्त्वपूर्ण कार्यक्रमहरुको बारेमा समेत जानकारी गराएका थिए ।
संगठन सुदृढीकरण अभियानमा जुटेको कांग्रेस कोशीको संगठन विभागले आयोजना गरेको कार्यक्रममा संगठन विभाग प्रमुख मदन संग्रौलाको सभापतित्व रहेको थियो भने प्रदेश प्रवक्ता यदु विष्ट , सहमहामन्त्री खड्ग फागो , क्षेत्र नं २ सभापति नागेश्वर प्रसाद सिंह र मोरङ जिल्ला सचिव मोदराज घिमिरे , महासमिति सदस्यहरु शिवनारायण सिंह , अब्दुल रहिम , विमलादेवि दास , जिल्ला सदस्य रञ्जन थापा , क्षेत्र नं २ प्रदेश 'ख' सभापति देवेन्द्र बस्नेत लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मोरङ क्षेत्र नं २ भरिका कांग्रेस नेता , कार्यकर्ता एवम् सक्रिय सदस्यहरुको सहभागीता रहेको थियो ।