समितिमा विश्वप्रकाशको प्रश्न - राज्यसँग चार हजार भीडको व्यवस्थापन गर्ने क्षमता पनि नभएको हो ? [भिडियो]
आन्दोलनका क्रममा भएको बल प्रयोग नियतवश हो वा आकस्मिक हो भन्नेबारेमा पनि जवाफ दिनुपर्ने
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २० बुधबार
739
Shares
काठमाडौँ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले तीनकुने घटनामा संसदीय समितिको ध्यानाकर्षणको विषय नबनेको भन्दै आपत्ति जनाएका छन् । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मुलुकमा कुनै प्रकारको गम्भीर घटना हुँदा संसद्को पहिलो ध्यानाकर्षण हुनुपर्नेमा त्यसो हुन नसकेको बताए ।
उनले संसद नबसेको समयमा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले गम्भीरतापूर्वक नलिएकोप्रति आपत्ति जनाए । समितिले गृहमन्त्रीलाई बोलाएर सरकारको बुझाइबारे जानकारी लिनुपर्ने बताए । उनले राज्यसँग ४ हजारसम्मको भीडको व्यवस्थापन गर्ने पनि क्षमता नभएको हो ? भन्दै प्रश्न गरे ।
महामन्त्री शर्माले भने, ‘यदि मुलुकमा कुनै प्रकारको गम्भीर घटना हुन्छ भने त्यो संसद्को पहिलो ध्यानाकर्षणको विषय बन्छ । अहिले संसद नबसिरहेको बेलामा, संसद त्यसमा पनि मिनी संसद, र राज्य व्यवस्था तथा सुशासन समितिको पहिलो एजेन्डामा नै चैत्र १५ गतेको घटना थियो । एजेन्डा निर्माण गर्ने प्रक्रियामा कहाँ कमी भयो, प्रक्रिया के हो ? पहिले बनाइएको थियो भने किन पछि करेक्सन गर्न ध्यान दिएनौँ । राज्य व्यवस्था समितिको यो बैठकमा गृहमन्त्रीजीलाई बोलाउनुपर्छ र राज्य प्रशासनको तर्फबाट राज्यको बुझाइ के हो ? भएको विषयवस्तु के हो भन्नेबारेमा गृहमन्त्रीले जवाफ दिनुपर्छ । ४ हजारसम्मको भीडको व्यवस्थापन गर्ने पनि क्षमता नभएको हो राज्यको वा बल प्रयोग गर्ने कुरा नियतवश भएको हो वा आकस्मिक भएको हो । यो सन्दर्भमा गृहमन्त्रीजीले अवसर गुमाउनु भयो ।’
महामन्त्री शर्माले सरकारले आन्दोलनका क्रममा भएको बल प्रयोग नियतवश हो वा आकस्मिक हो भन्नेबारमो पनि जवाफ दिनुपर्ने बताए ।