प्रधानमन्त्री ओलीले संसद्मा जवाफ दिँदै, यस्तो छ सभाको कार्यसूची
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १८ सोमबार
3.6k
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै छन्। प्रधानमन्त्री ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयलाई लिएर संसद्मा जवाफ दिन लागेका हुन् ।
यो सम्बोधनले लामो समयदेखि जारी राजनीतिक गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री ओलीले सुरुमै सम्बोधन गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
संसद भवन नयाँ बानेश्वरमा हुने बैठकमा प्रधानमन्त्री ओलीले सरकारका पछिल्ला गतिविधि, आगामी योजना र प्रमुख प्रतिपक्षी दलले उठाएका मुद्दाहरूमा आफ्नो धारणा राख्नेछन्। प्रधानमन्त्रीको सम्बोधनपछि प्रमुख प्रतिपक्षी दलले जारी गरेको संसद अवरोध हट्ने अपेक्षा गरिएको छ। कुलमानलाई पदबाट हटाउने सरकारको निर्णयलाई लिएर प्रतिपक्षी दलले संसद अवरोध गर्दै आएका छन्।
शुक्रबार सभामुख देवराज घिमिरेसहित बसेको सत्तापक्ष, प्रतिपक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतकहरुबीचको छलफलमा प्रधानमन्त्री ओलीले आज संसद्मा जवाफ दिने सहमति भएको थियो। यसअघि, प्रतिपक्षी दलहरूले प्रधानमन्त्री ओलीले संसदमा जवाफ नदिएसम्म अवरोध जारी राख्ने अडान लिएका थिए।
आजको बैठकमा महत्वपूर्ण प्रतिस्थापन विधेयकहरू छलफलसहित पारित गर्ने कार्यसूची रहेको छ। यी विधेयकहरूमा आर्थिक, सामाजिक र राजनीतिक महत्वका विषयहरू समेटिएका छन्। संसद सचिवालयका अनुसार, बैठकमा यी विधेयकहरूमाथि दफावार छलफल हुनेछ र आवश्यक संशोधनहरू पारित गरिनेछ।
बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नेछन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नेछन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्ताव प्रश्तुत गर्ने, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ प्रश्तुत गर्नेछन् ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नेछन् । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोश्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नेछन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नेछन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नेछन् । प्रधानमन्त्री के.पी. शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नेछन् । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।
त्यस्तै सवा ११ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नेछन् । सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नेछन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नेछन् ।
सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नेछन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नेछन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने , निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नेछन् ।
निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रश्ताव प्रश्तुत गर्नेछन् । आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नेछन् । आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।
प्रधानमन्त्रीको सम्बोधन र विधेयकहरू पारित भएपछि संसदको नियमित कार्यसूची सुचारु हुने अपेक्षा गरिएको छ।