काठमाडौँ । एनसेल नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको दोस्रो खेल बराबरीमा सकिएको छ । आइतबार बेलुकी सकिएको खेलमा बुटवल लुम्बिनी एफसी र झापा एफसीले बराबरी खेलेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले खेलको निर्धारित समयमा गोल गर्न नसकेपछि खेल गोलरहित बराबरी टुङगिएको हो । यससँगै दुवै टोलीले समान एक एक अङ्क बाँडेका छन् ।
यसअघि नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल खेल ‘एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३’ को उद्घाटन खेलमा शनिबार ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्स एफसीले २–२ गोलको बराबरी खेलेका थिए ।
प्रतियोगिता अन्तर्गत सोमबार एफसी चितवन र पोखरा थन्डर्सबीच खेल हुनेछ ।