कुलमान हटाइएकोमा प्रतिपक्षी दलले संसद्मा विरोध गर्ने
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १३ बुधबार
2.8k
Shares
तस्बिर फाइल
काठमाडौँ । प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोमा सरकारको विरोध गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको संसदका विपक्षी दलहरुको बैठकले सदन र सडकबाट सरकारको उक्त निर्णयको विरोध गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले अलोकतान्त्रिक रूपमा विधि मिचेर घिसिङलाई हटाएको भन्दै प्रतिपक्षी दलहरूले संसद्मा आवाज उठाउने र सडकमा पनि विरोध गर्ने निर्णय भएको बताए । सरकारले कुलमानलाई दुई तिहाइको दम्भका आधारमा हटाएको प्रतिपक्षी दलहरूको आरोप छ । तर संसदीय गतिविधि बाहेकका काममा दुई तिहाइको अर्थ रहँदैन ।
उनले भने, ‘पछिल्ला गतिविधि र सरकारले गरेका पछिल्ला निर्णयहरूको बारेमा संसद्मा भएका विपक्षी दलहरूको बैठक बस्यौँ । मुख्यतः सोमवार राति भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जुन अलोकतान्त्रिक तरिकाले, दुई तिहाइको दम्भका साथ पार्टीहरूको सरकारले गलहत्त्याउने काम गरेको छ । अनुशासन, विधि भन्दा माथि गएर शक्ति प्रयोग गरेर हटायो । त्यस निर्णयविरुद्ध सदनमा आवाज उठाउनेछौँ । सदनमा प्रश्न गर्ने र त्यस कार्यको विरोध गर्नेछौँ ।’