arrow

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघमा को को भए विजयी ? [विवरणसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ११ सोमबार
ndda-81-12-8y.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशनबाट माधवप्रसाद चम्लागाईं नेतृत्वमा पुगेका छन् । 

खसेको ४७० मतमध्ये ४५२ मत सदर हुँदा चम्लागाईं एक्लैले ३५१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी विकास थापाले ८८ मत ल्याउँदा कल्पना खड्काले १३ मतमात्रै ल्याइन् । 
    
मतदातामाझ लोकप्रिय चम्लागाईं अपाङ्गता भएकाहरुको हकहितका लागि शुरुआतदेखि नै लड्दै आएका छन् । सञ्चारकर्मीसमेत रहेका उनले सञ्चारकर्मका क्षेत्रबाटसमेत अपाङ्गता भएकाहरुको हकहितमा लड्दै आए । 

सो क्रममा उनी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा नेपाल प्रेस युनियनका पनि केन्द्रीय सदस्य रहे । 

युवा कांग्रेसमा लोकप्रिय देखिएका उनी कांग्रेसको १४ औँ महाधिवेशनका केन्द्रीय सदस्यका उम्मेदवारसमेत हुन् । 

चम्लागाईंले संविधानको हकको प्रयोग गर्दै अपाङ्गता भएका दृष्टिविहीनले पनि सगरमाथा आरोहण गर्न पाउनु पर्छ भन्ने माग राखेर मुद्दा हालेसँगै मुद्दा जितेर दृष्टिविहीनलाई सगरमाथा पुर्याउन ठूलो योगदान दिए । 

उनले संविधानमा अपाङ्गता भएकाहरुको हकहितका लागि बुँदाहरु समेट्न अहम् भूमिका खेलेका थिए । 

अपाङ्ग संघको अध्यक्ष भएपछि नै उनले आफूले निरन्तर अपाङ्गता भएकाहरुको हकहितका लागि अझ सशक्त भएर लड्न उत्प्रेरणा मिलेको बताएका छन् । 

उनी अहिलेसम्म छायाँमा रहेर काम गर्दै आए पनि अब भने पदीय रुपले नै जिम्मेवारीमा आएका छन् । 

अन्य कसले जिते कसले हारे ? 
उपाध्यक्ष महिलामा अनिता घिमिरे गैरे निर्वाचित भएकी छिन् । उनले ३३९ मत ल्याइन् भने प्रतिस्पर्धी उमादेवी घिमिरेले ९८ मत पाइन् । 

उपाध्यक्ष खुलामा उदयबहादुर लिम्बू ३३२ मतसहित निर्वाचित भए । टेकप्रसाद अचार्यले ७० तथा उमेश पौडेलले ३५ मत पाए । 

दुई महामन्त्रीमा गणेशबहादुर खत्री ३४९ मतसहित र किरणकुमार पासवान २४६ मतसहित विजयी हुँदा पराजित अश्विन लम्सालले १००, प्रकाश चिलुवालले ५० तथा विरोध खतिवडाले ४३ मतमात्रै ल्याए । 

मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट हरेक प्रदेशबाट एक महिलासहित दुई जनाका दरले १२ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भए ।  

खुलातर्फ तीन महिला सदस्य पनि निर्विरोध भए भने फरक वर्ग तर्फबाट ७ जना निर्विरोध भए । 

८९२ मतदातामध्ये ४७० मत खसेको थियो  । बाँकी १२ जना महिला र समावेशी मिलाई मनोनित हुनेछन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ