कुलमान उज्यालो नेपालको नायक होइनन् - ऊर्जामन्त्री खड्का [भिडियो]
उद्योगको लाइन काटेर घरमा विद्युत् दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको आरोप
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ६ बुधबार
598
Shares
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको बताएका छन् ।राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले नेपालमा लोडसेडिङको अन्त्य घिसिङले नभई भारत र निजी क्षेत्रले गरेको जिकिर गरे ।
कार्यकारी निर्देशक घिसिङ उद्योगको लाइन काटेर घरमा विद्युत् दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको मन्त्री खड्काको आरोप छ । उनले सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले पनि जम्मा ७०० मेगावाट विद्युत् मात्र उत्पादन गरिरहेको उल्लेख गरे । उनले अहिले पनि ८२५ मेगावाट विद्युत् आयात गरेर नेपालको आपूर्ति धानिरहेको बताए ।
उनले भने, ‘सरकारको शतप्रतिशत लगानी रहेको विद्युत् प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ । २८०० मेगावाट विद्युत् निजी क्षेत्रले उत्पादन गरेको छ । आज पनि विद्युत् आपूर्ति हुन सकेको छैन । हिजो पनि लोडसेडिङ थियो, आज पनि छ । हिजो पनि उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ । हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत् छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ । त्यसो भएको हुनाले निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युतले गर्दा लोडसेडिङ हटेजस्तो अनुभूति भएको छ । त्यसकारण उज्यालोको नायक भनेको उन होइन है । बरु यो धन्यावाद भारतलाई दिउँ निजी क्षेत्रलाई दिउँ । जसले हाम्रो आवश्यकता पूर्ति गरेको छ त्यता धन्यावाद दिउँ न भनेर निवेदन गर्न चाहेको हो ।’