काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता प्रकाशचन्द्र लोहनीले सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावमा आफ्नो पार्टीले समर्थन नगर्ने बताएका छन् । नुवाकोट–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा नेता लोहनीले सरकारले सो प्रस्ताव ल्याउनका लागि राप्रपासँग कुनै पनि परामर्श नलिएकाले त्यसमा समर्थन गर्न नसकिने प्रष्ट पारे ।
लोहनीले प्रदेश गठन तथा सीमा निर्धारण चुनावपछि बन्ने सङ्घीय प्रदेशको सहभागितामा हुनुपर्ने संवैधानिक व्यवस्थालाई परिवर्तन गर्न सरकारले नसक्ने बताउँदै सङ्घीयतामा धेरै विवाद बढ्दै गए जनमतमा जानुपर्ने विचार राखे ।
पूर्वमन्त्री समेत रहेका लोहनीले मुलुकमा शान्तिसुरक्षा कायम गर्न नसकेको, सरकारले देशमा भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाए । नेता लोहनीले अहिले देशमा देखापरेको समस्या समाधानका लागि दलबीच एकता र सहकार्यको खाँचो रहेको औँल्याउँदै त्यसका लागि प्रतिपक्षी दलले सदन रोक्न नहुने र बढी जिम्मेवार भई प्रजातान्त्रिक पद्धतिलाई अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा विभिन्न राजनीतिक दल परित्याग गरी सो पार्टीमा प्रवेश गरेका १०० जना कार्यकर्तालाई नेता लोहनीले टीका लगाएर पार्टीमा स्वागत गरे । रासस