arrow

आयोजनाको काम ठप्प

चिनियाँ कम्पनी सिनो हाइड्रोविरुद्ध दोलखामा व्यापक प्रदर्शन [भिडियो]

सहमति कार्यान्वयन नगरेको भन्दै तामाकोशी पाँचौँका मजदुर पुनः आन्दोलित 

logo
श्याम खतिवडा,
प्रकाशित २०८१ फागुन २९ बिहिबार
chino-hydro.jpg

दोलखा । मजदुर र ठेकेदार पक्षबीच भएको सहमति कार्यान्वयन नगरेको भन्दै दोलखाको विगु गाउँपालिका ४ स्थित सुरिटारमा निर्माणाधीन तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाका मजदुरहरु पुनः आन्दोलनमा उत्रिएका छन् । 

ठेकेदार कम्पनी र मजदुरबीच दुई साताअघि भएको सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै मजदुरहरु आन्दोलनमा उत्रिएपछि बिहीबारदेखि आयोजनाका सबै काम ठप्प भएको हो । 

नेपाल विद्युत प्राधिकरणद्वारा निर्माणाधीन ९९ मेगावाट क्षमताको  तामाकोशी पाँचौँ जलविद्युत आयोजना निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी सिनो हाइड्रो के एस एन एस जेभी र आयोजनामा कार्यरत मजदुरबीच दुई साताअघि भएको सम्झौता ठेकेदार पक्षले कार्यान्वयन नगरेपछि आयोजनाका सबै काम बन्द गरेर आन्दोलनमा उत्रिन परेको नेपाली श्रमिक संघर्ष समितिका संयोजक जीवन मगरले जानकारी दिए । 

उनले दुई साताअघि भएको सम्झौतामा खासगरी नेपाली मजदुरहरुलाई रोजगारी सम्झौता गराउने, श्रम ऐन अनुसारको ज्याला उपलब्ध गराउने लगायतका विषयमा लिखित सहमति भए पनि ठेकेदार पक्षले उक्त सम्झौता कार्यान्वयन नगरेको भन्दै पुनः आन्दोलनमा उत्रिएको बताए । उनले आयोजनाको व्यवस्थापन पक्षले प्रहरी परिचालन गरी मजदुरलाई धरपकड गराएको आरोप लगाएका छन् । 

मजदुरहरुले एक विज्ञप्ति जारी गर्दै आयोजनाको व्यवस्थापन पक्षले रोजगारी सम्झौता उपलब्ध नगराउन्जेल र अन्य सहमतिमा उल्लेख भएका विषयको सम्बोधन नहुन्जेल आन्दोलन जारी राख्ने विज्ञप्तिमा उल्लेख छ । 

उनीहरुले दैनिक नाराबाजीसहित आन्दोलन गरिरहेका छन् । आयोजनामा झण्डै दुई सय भन्दा बढी मजदुरहरु कार्यरत छन् । 

सबै नेपाली श्रमिकहरु काम छोडेर आन्दोलनमा उत्रिएपछि आयोजनाको अडिट एक , अडिट दुई र विद्युतगृहका सबै काम ठप्प हुँदा आयोजनामा लाखौँ घाटा भएको आयोजनाले जनाएको छ । 

यसबारे जानकारी लिन खोज्दा चिनियाँ कम्पनी सिनो हाइड्रोका प्रतिनिधि अनुप एलसीसँग टेलिफोन सम्पर्क हुन सकेन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ