वीरगञ्जको मुख्य सडक विस्तार विरूद्धको रिट सर्वाेच्चबाट खारेज
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २८ बुधबार
624
Shares
पर्सा । सर्वोच्च अदालतले लामो समयदेखि अदालतमा विचाराधीन रहेको वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने विरूद्धको रिट खारेजी गरेको छ ।
वीरगञ्जका छुट्टाछुटै पाँच घरधनी निवेदकले वीरगञ्जको मेनरोड खण्डमा सडकको दायाँबायाँ २५-२५ मिटरको विस्तार गर्न नहुने भन्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।
वीरगञ्ज महानगरका लक्ष्मण साह रौनियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर २०७६ सालमा सडक विस्तार रोक्नुपर्ने माग राख्दै रिट दायर गरेका थिए । अन्य निवेदकले पनि फरक-फरक मितिमा सडक विस्तार विरूद्धमा रिट दायर गरेका थिए ।
सर्वाेच्चका न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलाशले बुधबार रिट निवेदकको पाँच वटै रिट खारेज गरेसँगै डिभिजन सडक कार्यालय हेटौँडालाई वीरगञ्जको मेनरोड खण्डको सडक दायाँबायाँ २५-२५ मिटर चौडा गर्ने बाटो खुलेको छ । सो रिट हालेसँगै सडक विस्तारको काम रोकिँदै आइरहेको थियो ।
त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डकचोकदेखि पावर हाउसचोक, घण्टाघरचोकदेखि-आर्दशनगर, रजतजयन्तीचोक, शङ्कराचार्यगेट हुदैँ मितेरी पुलसम्मको मुख्य सडक विस्तारको काम मुद्दासँगै रोकिएको थियो ।
यो मुद्दाको रिट २८औँ पटक मङ्गलबार पेसी तोकिएको थियो । मङ्गलबार सो मुद्दा सम्बन्धित रिट हेर्न नभ्याएपछि बुधबारको लागि हेर्दाहेर्दैमा राखिएको थियो । रासस