arrow

सचेत नागरिकबाट मात्र समृद्ध समाज निर्माण हुन्छ : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २४ शनिबार
yamlal-kandel-cm-karnali.jpg

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सचेत नागरिकबाट मात्र समृद्ध समाज निर्माण हुने बताएका छन् । 

वीरेन्द्रनगर नगरपालिकाद्वारा सुर्खेतमा आयोजित ११५औँ अन्तरराष्ट्रिय महिला श्रमिक दिवसको कार्यक्रममा उनले सचेत नागरिकहरूबाट मात्र सभ्य र समुन्नत समाज निर्माण हुने धारणा राखे ।

मुख्यमन्त्रीले भने, “आजको दिन त्यत्तिकै आएको होइन, अन्तरराष्ट्रियस्तरमा महिलाहरूले गरेको आन्दोलन र योगदानको उपज हो, नेपालको संविधानले पनि सबै नागरिकलाई समान अधिकारको व्यवस्था गरेको छ, हामी सभ्य बनेर आफ्नो अधिकारका लागि सङ्घर्ष गर्नुपर्छ ।”

जात, भूगोल र क्षेत्रका आधारमा विभेद वर्जित भए पनि व्यवहारमा अहिले पनि कतिपय ठाउँमा भेदभावका कहालिलाग्दा घटना घटिरहेको भन्दै उनले ती समस्या र चुनौतीबाट मुक्त हुन सभ्य समाज निर्माण हुनुपर्नेमा जोड दिए । 

मुख्यमन्त्रीका अनुसार दिवस मनाउनलाई समय बिताउने मात्र नभई यसबाट प्राप्त सन्देश आफ्नो जीवन र व्यवहारमा लागू गर्नुपर्दछ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले प्रत्येक वर्ष ८ मार्चलाई विश्वजगत्मा महिलाहरूले आफ्नो हकअधिकारका निम्ति लडेर ल्याएको दिनका रूपमा स्मरण गर्ने बताउँदै महिलाको क्षमता र सामथ्र्य कमजोर नभएको उदाहरण ती इतिहासले पुष्टि गर्ने धारणा राखे । 

सन् १९०८ मा न्यूयोर्क सिटीमा १५ हजार महिलाहरुले दैनिक कामको समयावधि घटाउनुपर्ने, तलब बढाउनुपर्ने र मतदानको अधिकार प्राप्त हुनुपर्ने भन्दै गरेको प्रदर्शनबाट आजको दिनको बिजारोपण भएको उनले बताए ।

उनले भने, “विश्वमा आधाभन्दा बढी महिलाको जनसङ्ख्या छ, नेपालमा पनि महिलाको जनसङ्ख्या उल्लेख्य छ, मुलुकको संविधानले महिलालाई ३३ प्रतिशत अधिकार दिएको छ, अधिकार प्रदान गर्ने देशका हिसाबले विश्वमा नेपाल अग्रस्थानमा छ र यो प्रशंसनीय छ, पछिल्लो समयमा अधिकार र अवसर पाएमा महिलाले पनि शासन चलाउन सक्छन् भन्ने थुप्रै दृष्टान्त हामीसँग छन्, यसले महिलामा जागरण मात्र पैदा भएको छैन, उत्साह र उत्प्रेरणा पनि थप्दै आएको छ ।”

कार्यक्रमका वक्ताले संविधानमा महिला अधिकारको व्यवस्था भए पनि त्यसको कार्यान्वयन र व्यावहारिक पक्ष कमजोर भएकाले सरोकार भएकाहरूले बढी ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

दिवसमा अझ साँच्चिकै श्रममा जोडिएका महिला सहभागिता बढाउन सकेमा उनीहरूका कथाले नेपाली समाज रुपान्तरण सहयोग पुग्ने सहभागीको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ