arrow

नेपालकै ठूलो डीडब्लू आईटी फेयरमा २९ कम्पनीको प्रदर्शनी : युवाको विशेष चासो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २४ शनिबार
edu-tech-81-11-24.jpg

काठमाडौँ । डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीले विभिन्न २९ कम्पनीको सहभागितामा नेपालकै ठूलो डियरवक (डीडब्लू) आईटी फेयर २०२५ आयोजना गरेको छ ।

काठमाडौँको सिफलमा रहेको डियरवाक कलेजले आईटी अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै आईटी फेयरको सातौँ संस्करण आयोजना गरेको हो । फेयरमा आईटी पढेर रोजगारीको खोजीमा रहेकादेखि पढ्दै गरेका विद्यार्थीसम्म सहभागी छन् ।

फेयरका कार्यक्रम संयोजक श्याम सुन्दर खतिवडाले जब फेयरमार्फत रोजगारदातालाई जोड्ने काम हुने बताए । जब फेयरले आईटी क्षेत्रलाई योग्य जनशक्तिको छनोट गर्ने गरेकोसमेत उनले जानकारी दिए ।

‘फेयरमा आईटीका विभिन्न २९ वटा कम्पनीहरुको सहभागिता छ, मेला विद्यार्थी र कम्पनीका लागि आफ्ना भ्याकेन्सीलाई पूरा गर्नका लागि अवसर बनेको छ’ खतिवडाले भने । उनका अनुसार सन २०१६ देखि यो मेला आयोजना हुँदै आएको छ । मेलामा अवलोकनकर्ता वर्षैपिच्छे बढिरहेका छन् । गत वर्षमात्र २४ सय विद्यार्थीले मेलाको अवलोकन गरेका थिए ।

खतिवडाले मेलामा आईटी पढेका विद्यार्थीले रोजगारीका लागि आफूले जानेको योग्यताअनुसार आफ्नो बायोडाटा बुझाउन सक्ने बताए । ‘यो नेपालकै ठूलो आईटी फेयर हो, यहाँ आएर आईटीका विद्यार्थीले आफूले जानेको योग्यताअनुसार आफ्नो बायोडाटा बुझाउन सक्ने छन्, त्यसपछि उनीहरु छनोटमा सहभागी हुनेछन्’, खतिवडाले मेलाबारे जानकारी दिँदै भने ।

के छ आईटीमा सम्भावना ?

मेलामा अघिल्ला वर्ष सहभागी कम्पनी र अहिले आएका कम्पनीको उत्साहले आईटी क्षेत्रमा सम्भावना पहिले भन्दा बढ्दै गएको देखिएको खतिवडा बताउँछन् । अहिले नेपालतर्फ विदेशी आईटी कम्पनीहरुसमेत आउने क्रम बढेको उनको भनाइ छ । त्यसले पनि नेपालको आईटी क्षेत्रमा सम्भावना बढेको देखिएको उनको दाबी छ ।

यस्तै आईटी क्षेत्रका विद्यार्थीहरु विदेश गएर पनि टेक्निकल अनुभव प्राप्त गरेर नेपाल नै फर्किएको पाइएको उनले बताए । यसरी अनुभव प्राप्त ब्यक्तिहरुले आईटीमार्फत आफ्नै घरमा बसेर चारपाँच लाखसम्म कमाइरहेको उनको भनाइ छ।

उनले काठमाडौँ भित्रका सबै आईटी कलेजलाई मेलाका लागि निमन्त्रणा गरिएको बताए । विद्यार्थीले मेलामा आफ्नो अनुभव, प्राथमिकतासहित आफ्नो बायोडाटा लिएर आउन सक्ने उनले जानकारी दिए । ‘कुन कम्पनीमा आफू योग्य छु भन्ने लाग्छ त्यही अनुसार छनोट गरेर विद्यार्थी आउन सक्नेछन्’, खतिवडाले जानकारी दिँदै भने ।

डियरवाक ग्रुपका अध्यक्ष क्याम्पस प्रमुख हितेश कार्कीले २०११ मा स्थापना भएको कलेजले २०१६ मा पहिलो पटक मेला आयोजना गरेको बताए । उनले काठमाडौँमा विद्यार्थीहरु आईटीसम्बन्धी रोजगारी कहाँ कसरी पाइन्छ भन्ने जानकारी बिना नै अध्ययन गरिरहेको पाइएकाले मेलामार्फत सम्पूर्ण जानकारी दिइने गरिएको उनको भनाइ छ।

‘कम्प्युटर साइन्स पढिरहेका विद्यार्थी काठमाडौँमा धेरै छन्, तर काम कसरी गर्ने भन्ने जानकारी सबैलाई छैन, सो विषयमा जानकारी दिने उद्देश्यका साथ हामीले आईटी मेलाको शुरुआत गरेका हौँ’, उनले भने।

‘मैले यो टेक्नोलोजीले के पाउँछु भन्ने जानकारी मेलाबाट पाइने कार्की बताउँछन् । मेलामार्फत एउटा कम्पनीले १५–२० जनाको जनशक्ति लिइरहेको पाइएको उनले बताए। यस्तै नेपालमा आईटीको क्षेत्रमा के के काम हुँदैछ भन्ने जानकारी मेलाबाट पाइने छ।

‘एआइको फाइदा लिएर आईटी क्षेत्रको जबलाई झनै परिपक्व बनाउन सहयोग पुग्ने अहिलेको अवस्था छ, एआइले जब लाने होइन, त्यसलाई प्रयोग गरेर अर्को परिपक्व काम गर्ने हो, अबको टेक्नोलोजी त्यता जाँदैछ, मेलामार्फत टेक्नोलोजीको विकसित प्रयोगको विषयमा बहस र छलफल भैरहेको छ’, कार्कीले भने। 

‘नेपाली विद्यार्थी बाहिर गएर पढ्छन भने नेपालमा विदेशीलाई पढ्न किन ल्याउन नसक्ने ? मेडिसिन पढ्न आउन सक्छन भने आईटी पढ्न आउन किन नसक्ने ? राज्यले त्यही अनुसार आईटी नीति बनाइदिनु पर्छ,’  आईटीका क्षेत्रमा नीतिगत सुधार राज्यले नै गर्नुपर्ने औंल्याउँदै उनले अघि भने,‘पढेर परीक्षा दिएपछि नतिजा आउन समय लगाउने नीतिले विदेशी विद्यार्थी ल्याउन सकिन्न, हामीसँग क्षमता छ, अनुभव छ तर राज्य पनि नितिगत तहबाट अघि बढ्नु पर्छ।’

मेलामा सहभागी कम्पनी ‘मैत्री’का अभिनायक स्वाँरले मैत्रीले नेपालमा सफ्टवेयर निर्माणको काम गरिरहेको बताए। सो कम्पनीले अमेरिकामा भएको कम्पनिलाई इन्जिनियरिङ डिपार्टमेन्ट मार्फत काम गरिरहेको उनले जानकारी दिए।

‘यहाँ बसेर पनि विश्वको माग अनुसारको सफ्टवेयर बनाउन सक्ने योग्यता भएका ब्यक्तिहरु नेपालमा छन, ईन्टरनेटको समयमा डाटालाइ केलाएर काम गर्न सक्ने जनशक्ति नेपालमा छ, नेपालमा मासिक चारपाँच लाख कमाइरहेका ब्यक्ति धेरै छन्, आजका दिनमा यो संख्या बढ्दो छ, हामीले ती ब्यक्तिलाई केन्द्रमा राखेर काम गरिरहेका छौं’, उनले भने।

स्वाँरले नेपालमा आईटी पढाउन सक्ने कलेज धेरै रहेको भन्दै कलेज नै नगएर पनि काम गर्न सक्ने क्षमता भएका ब्यक्तिहरुले आईटीका क्षेत्रमा काम गरिरहेको बताए। विश्वमा गुगल, एप्पल लगायतका कम्पनीमा काम गरिरहेका नेपालीहरु पनि रहेको उनले जानकारी दिए ।

‘नेपालमा पनि अहिले सफ्टवेयर बनाउने काम बढेको छ, यहींको मार्केटमा, बैंकिक क्षेत्रमा, हेल्थ केयरमा सफ्टवेयर मार्फत काम भैरहेको छ’, उनले अघि थपे । मैत्रीले डेढ बर्षदेखि नेपालमा काम गरिरहेको छ। सो कम्पनीले प्राविधिक अन्तर्वार्ता, औपचारिक अन्तर्वार्तामार्फत जनशक्ति छनोट गर्ने गरेको छ ।

सिफलमा रहेको डियरवाक कलेजकी निर्देशक निजु दाहालले कलेज ग्राजुएटहरु रोजगारीको अन्योलमा भएकाले राम्रो कम्पनी छनौटका लागि मेला एउटा अवसर बन्दै आइरहेको जानकारी दिइन् । सो कलेजमा मार्केटिङ इन्टन्र्सिप गरिरहेकी सिएसआईटीकी विद्यार्थी एन्सा भण्डारीले विश्व नै आईटीमा अगाडि बढिरहेको भन्दै आफुले आईटी विषय रोजेको बताइन् ।

यस्तै सीएसआईटीकी अर्की विद्यार्थी सदीक्षा घिमिरेले नेपालमा मत्र नभएर विश्वको जुनसुकै कुनामा गएर पनि काम गर्न सकिन्छ भनेर आईटी विषय रोजेको बताइन् । उनी डियरवाकमा ग्रुप इन्टर्नमा प्रोजेक्ट म्यानेजरका रुपमा कार्यरत छिन् ।

सोही कलेजका सफ्ट्वेयर क्लब अध्यक्ष दिपन सिलवालले आईटीका विद्यार्थीहरुका लागि नेपालमा नै पर्याप्त अवसर रहेको आफूले पाएको बताए। आफ्नो सीप र योग्यताले आईटीका विद्यार्थीले नेपालमा रोजगारी पाउने  सम्भावना आफुले देखेको उनले बताएका हुन् ।

सोही कलेजका सफ्ट्वेयर क्लबका अध्यक्ष दिपन सिलवालले आईटीका विद्यार्थीहरुका लागि नेपालमा नै पर्याप्त अवसर रहेको आफूले पाएको बताए। आफ्नो सीप र योग्यताले आईटीका विद्यार्थीले नेपालमा रोजगारी पाउने सम्भावना आफूले देखेको उनले बताएका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ