काठमाडौं । शुक्रबार नेकपा एमाले सहितको विपक्षी दलहरूले गर्न लागेको शक्ति प्रदर्शनका कारण राजधानीको केन्द्रको ट्राफिक व्यवस्थापनमा एक दिनको लागि ठूलो खलबल आउने देखिएको छ । दिउँसो १ बजे काठमाडौंको रत्नपार्कमा भेला भएर ३ भजे भृकुटी मण्डपमा आम सभा गर्नै तयारी गरेका विपक्षीहरुका कारण त्यस आसपासमा सवारी साधन लिएर जानु पर्ने भए त्यसको विकल्प अपनाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
अपराह्न ११ बजेदेखि नै उपत्यका भित्र तथा बाहिरबाट मानिसहरु त्यसतर्फ आउन लागेकोले त्यस आसपासका १५ ठाउँबाट सवारी साधन डाईभर्सन गरेर बैकल्पिक बाटोबाट पठाउने तयारी भईरहेको ट्राफिक महाशाखाका प्रवक्ता एसपी लोकेन्द्र मल्लले जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय सभागृह मोडदेखि पद्मोदयम मोडसम्म शुक्रबारको लागि सवारी लैजान प्रतिबन्ध लगाईएको छ । साथैै, सुन्धारा, जमल, भद्रकाली, त्रिचन्द्र गेट लगायतका भृकुटीमण्डप तर्फ जाने १५ स्थानहरुबाट सवारी डाईभर्सन गरिने भएकोले सो क्षेत्रमा जानुपर्ने सेवाग्राहरुहरुले बैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।