काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा पुनः नारायणमान विजुक्छे सर्वसम्मत निर्वाचित भएका छन् । पार्टीको आठौँ महाधिवेशनबाट आठौँ पटक विजुक्छे पुनः सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । फागुन १६ देखि चलेको महाधिवेशन मंगलबार भक्तपुरमा सम्पन्न भएको थियो ।
८५ वर्षका विजुक्छे २०३१ माघ १० मा उनकै नेतृत्वमा स्थापना भएको पार्टीको आठौँ महाधिवेशनसम्म निरन्तर अध्यक्षमा सर्वसम्मत निर्वाचित हुँदै आएका छन् ।
उनको जन्म १९९६ साल फागुन २६ गते भक्तपुरको सुकुलढोका ५ मा भएको थियो । पिता गणेशमान विजुक्छे र माता सूर्यमाया बिजुक्छेका एघार सन्तान (पाँच भाइ, छ दिदी–बहिनी) मध्ये उनी जेठा हुन् ।
उनले भक्तपुरको पद्म माध्यमिक र शारदा रात्रि माध्यमिक विद्यालय एवम् भक्तपुर कलेजमा पढे। युवा अवस्थामै सक्रिय राजनीतिमा होमिएका बिजुक्छेले औपचारिक शिक्षाको रूपमा मानविकी शास्त्रको स्नातक परीक्षामा सम्मिलित भए तर स्नातक पूरा गरेनन्।
राजनीति शास्त्र र अर्थशास्त्र दुवै विषयमा उनको चाख भएकाले उनले यी दुवै विषयमा अध्ययन गरे । उनको जन्म हिन्दू परिवारमा भए पनि उनी भौतिकवादी मान्यता राख्छन् ।
उनको विवाह रामेछापकी शोभा प्रधानसँग २०४० सालमा भएको थियो । उनका दुई छोरा छन् ।