arrow

'गठबन्धन सरकारलाई एकताबद्ध भई अगाडि बढाउन आवश्यक'

logo
रासस,
प्रकाशित २०८१ फागुन १९ सोमबार
deuba-rupendai-2081-congress-meet.jpg

भैरहवा। नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेस र नेकपा (एमाले) गठबन्धनको वर्तमान सरकार एकताबद्ध भई अगाडि बढिरहेको बताएका छन्। 

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि भैरहवामा सुरु भएको प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरणमा उनले दुई ठूला पार्टी मिलेर सरकार गठन भइसकेपछि मुलुकमा आशा सञ्चार भएको बताए। 

प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच सरकार सञ्चालन विषयमा सम्झौता भए पनि दुई तिहाइको सरकार बने पनि पूर्ण रूपमा बहुमत नपुगेको उनको भनाइ थियो। उनले गठबन्धनको सरकारलाई सबैले एकताबद्ध रूपमा सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए। उनले सरकारमा अन्य पार्टीहरू पनि समावेश रहेको उल्लेख गर्दै प्रजातन्त्रमा प्रतिस्पर्धी पार्टी पनि आवश्यक रहेको बताए।

उनले नेपाली काँग्रेसमा विभिन्न किसिमका मतभेद हुन सक्ने भए पनि ती कुराहरूलाई आपसी छलफलबाट समाधान गर्न सकिनेमा जोड दिए। नेपाली काँग्रेस देशको ठूलो पार्टी भए पनि बहुमत प्राप्त पार्टी नभएकाले प्रशिक्षणबाट पार्टीलाई बहुमतप्राप्त पार्टी बनाउन सहयोग पुग्नेमा उनले विश्वास व्यक्त गरे।

नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सुरु भएको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा देश भरिका प्रतिनिधिसभाअन्तर्गतका एक सय ३० जना सहभागी छन्। साथै सोही सङ्ख्यामा क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरू तथा एउटा मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाबाट प्रदेशसभाअन्तर्गतका क्षेत्रीय सभापति ७० जना गरी जम्मा तीन सय ३० जनाको सहभागिता रहेको नेपाली काँग्रेसका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काले जानकारी दिए।

संयोजक खडकाले त्यस अवसरमा पार्टीसँग जोडिएका विषय, पार्टीका महत्त्वपूर्ण काम, २०४६ सालपछि नेपाली काँग्रेस सरकारमा हुँदा गरेका नीतिगत सुधार, संविधान, सङ्घीयताको कार्यान्वयन, नेपाली काँग्रेसको क्रियाशील सदस्यताको अभियान, पार्टी सङ्गठनसँग जोडिएका विषय र पार्टीको केन्द्र, प्रदेश, जिल्ला हुँदै निर्वाचन क्षेत्रसँग जोडिएका अन्तरसम्बन्धका विषयबारे प्रस्तुति रहने बताए। यस्तै समसामयिक विषयवस्तुसँग जोडिएका विभिन्न छ वटा विषयमा प्रस्तुति रहने उनको भनाइ छ।

दोस्रो दिन सात वटा समूह विभाजन गरी सहभागीले आफ्नो क्षेत्रको अनुभव, नेपाली काँग्रेस पार्टी सञ्चालनमा रहेका समस्यालगायतका बारे गहन छलफल गर्नेछन्। अर्को सत्रमा सरकारसँग जोडिएका विषयमा छलफल गरी सुझाव सङ्कलन गरिने कार्यक्रम रहेको खड्काले जानकारी दिए। त्यस अवसरमा पार्टीबाट सरकारमा सहभागी परराष्ट्र मन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकले जवाफ दिने कार्यक्रम रहेको छ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमलाई नेपाली काँग्रेस रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले व्यवस्थापन गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ