arrow

सरकारको पहिलो प्राथमिकता संविधान संशोधन

संविधान संशोधनमा पनि कांग्रेसले अभिभावकीय भूमिका निर्वाह गर्ने अवस्था आयो – गगन थापा

ती कानून एकदमै छिटो बनाउनुपर्नेछ, कतिपय कानूनहरू खारेज गर्नुपर्ने हुन्छ, कतिपय कानून हाम्रो संविधानसँग बाझिएका छन्, ती सबै विषय सहमतिका आधारमा समाधान हुँदै जानेछन्

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १७ शनिबार
gagan-thapa-81-11-17.jpg

खजुरा ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकार संविधान कार्यान्वयनमा केन्द्रित रहेको बताएका छन् । पेशागत तथा बुद्धिजीवी विभाग नेपाली कांग्रेस र नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनले यहाँ शनिबार आयोजित ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक लुम्बिनी प्रदेशस्तरीय अन्तरक्रियामा उनले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले गठबन्धन सरकार संविधान कार्यान्वयनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन केन्द्रित रहेको बताए ।

उनले संविधान घोषणासँगै कतिपय नीति, नियमका कारण कार्यसम्पादनका क्रममा असहजता भएको भन्दै सहमति र सहकार्यका आधारमा समयसापेक्ष रूपमा संविधान संशोधन हुने बताए । 

संविधान संशोधन हुँदै गर्दा निर्वाचन प्रणाली, सङ्घीयता, प्रदेशका अधिकारका हेरफेर गर्ने विषयमा व्यापक छलफल हुनुपर्नेमा उनले जोड दिए ।

थापाले भने, “कांग्रेस र एमाले गठबन्धनबाट बनेको सरकारले पहिलो प्राथमिकतामा संविधान कार्यान्वयनलाई राखेको छ । यससँग जोडिएका कानूनहरू बनाउनुपर्ने अहिलेको आवश्यकता हो, ती कानून एकदमै छिटो बनाउनुपर्नेछ, कतिपय कानूनहरू खारेज गर्नुपर्ने हुन्छ, कतिपय कानून हाम्रो संविधानसँग बाझिएका छन् । ती सबै विषय सहमतिका आधारमा समाधान हुँदै जानेछन् ।”

कांग्रेसको नेतृत्वमा शान्ति प्रक्रिया टुङ्गोमा पुगेसँगै संविधान बनेको र कार्यान्वयन पनि भएकाले संविधान संशोधनमा पनि कांग्रेसले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने अवस्था आएको भन्दै महामन्त्री थापाले संविधान संशोधन गर्ने क्रममा सबै दललाई समेटेर अगाडि बढ्ने धारणा राखे ।  

कांग्रेस पेशागत तथा बुद्धिजीवी विभागकी संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रियालाई नेपाली कांग्रेस सह–महामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य मैकुलाल वाल्मीकि, कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, सहमहामन्त्री एवं प्रदेश सांसद निमा गिरी, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले पनि सम्बोधन गरेका थिए । 

कार्यक्रममा संविधानविद् काशिराज दाहालले नागरिकस्तरबाट विशेषगरी निर्वाचन प्रणाली, समावेशिता, प्रादेशिक संरचनाको विषयमा पुनरावलोकन तथा कामको समीक्षा गरेर संविधान संशोधन गरिनुपर्ने सुझाव आएको बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ