arrow

माओवादी हेडक्वार्टर बैठक : आवश्यक परे संशोधन परिमार्जन

logo
प्रकाशित २०७३ पुष २१ बिहिबार
maoist-meet-new.jpeg

काठमाडौं । सत्ताधारी माओवादी केन्द्रले सर्वोच्चले गरेको निर्णयको स्वागत गर्दै संविधान संशोधन प्रस्तावमा आवश्यक परे परिमार्जनसमेत गर्न सकिने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार बसेको केन्द्रीय कार्यालय (हेडक्वार्टर) बैठकले प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित मधेसी मोर्चालाई सहमतिमा ल्याउन संशोधन प्रस्तावमा आवश्यक परिवर्तन गर्न सकिने निष्कर्ष निकालेको हो ।

मुलुकको विद्यमान समस्या समाधानका लागि सहमति एवं सहकार्यको विकल्प नभएको भन्दै त्यसका लागि सर्वोच्च अदालतको पछिल्लो फैसलाले समेत मार्ग प्रशस्त गरेको माओवादी केन्द्रको धारणा छ ।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतको फैसलापछि देशको राजनीति सहमतितिर जान लागेको र स्थानीय तहको निर्वाचनका लागि सरकारले हदैसम्मको प्रयत्न गरिरहेको जानकारी दिँदै पार्टीका तर्फबाट समेत त्यसका लागि आवश्यक वातावरण बनाउन विशेष पहल गर्नुपर्ने बताएको नेता अग्निप्रसाद सापकोटाले बताए ।

अध्यक्ष दाहालले मुलुकलाई सधँै बन्धक बनाएर राख्ने काम कोही कसैबाट पनि हुन नहुने बताए । त्यसका लागि संविधान संशोधन विधेयक अगाडि बढाउने र स्थानीय निकायको निर्वाचनको मिति समेत घोषणा गरिने विषयमा नै आफ्नो धारणा राखेको नेता सापकोटाले जानकारी दिए ।

अदालतको फैसलापछि अब संशोधन प्रस्ताव पारित हुने र सहमतिका लागि सबै दलसँग छलफल जारी रहेको भन्दै राजनीति क्रमशः सहमतिको मार्गमा अगाडि बढेको अध्यक्ष दाहालले बैठकमा बताए । पार्टीको आन्तरिक निर्वाचन र सङ्गठनात्मक र्काविधिका बारेमा छलफल गर्न बसेको बैठकमा सो बारेमा भने शुक्रबार मात्रै छलफल गरिने प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।

माओवादी केन्द्रले जिल्ला सम्मेलन गर्नका लागि कसरी सङ्गठनात्मक प्रतिनिधित्व व्यवस्थित गर्न सकिन्छ भन्नेलगायतका विषयमा कार्यविधि तय गर्ने जनाएको छ । बैठक शुक्रबार बिहान ८ बजे बस्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ