पाथीभरामा केबलकार निर्माण कुनै पनि बहानामा रोक्न मिल्दैन - सांसद खतिवडा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १५ बिहिबार
1k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पाथीभरा केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्ने बताएका छन् । बिहीबार गृह मन्त्रालयमा आयोजित गृहमन्त्री रमेश लेखक र कोशी प्रदेशका सांसदहरुबीच भएको छलफलपछि उनले विकास निर्माणका काम कुनै पनि बहानामा कसैले रोक्न नमिल्ने बताए । स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेर निष्कर्ष निकाल्नु पर्नेमा जोड दिए ।
उनले भने, ‘विकास निर्माणका कामहरू अवरुद्ध गर्न मिल्दैन जोसुकैले होस् । तर त्यहाँका स्थानीय जनताका मागहरू के के छन् स्थानीय लेभलमा सम्बोधन हुनुपर्यो । स्थानीय लेभलका मान्छेलाई बाहिरका मान्छेले उचालेर स्थानीय भन्दा बाहिरका मान्छेको उपस्थिति बढी हुने र राजनीतिकरण गर्ने पद्धतिको विरुद्ध जानुपर्छ चाहे जोसुकै होस् । तर यसको मतलब सरकारले जबरजस्ती पेलेर जाने नीतिमा जानु हुँदैन । समस्याको समाधान भनेको वार्ता नै हो । स्थानीय तहका जनप्रतिनिधिहरू सबैसँग छलफल गरेर एउटा निष्कर्षमा पुग्नु पर्दछ ।’
सांसद खतिवडाले केबुलकार निर्माणको अनुमति २०७५ सालमै दिएको तर अहिले स्थानीय जनताले नभई बाहिरका व्यक्तिहरूले आन्दोलन चर्काएर राजनीतिकरण गर्न खोजेको आरोप लगाउनु भयो । सबै पार्टीका नेताहरूलाई छलफलका लागि बोलाइएकाले छिट्टै एउटा निष्कर्षमा पुग्ने उनको भनाइ छ ।