काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भएका भाषाहरू जोगाउनु आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा भाषा प्रयोगशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भाषाहरू नेपालमा १३१ रहेको र अझै बढ्न सक्ने बताए । उनले भाषा आयोगको प्रमुख कर्तव्य नै भाषाहरूको संरक्षण र संवर्द्धन गर्नु रहेको बताए ।
उनले भाषा आयोगले सम्पूर्ण नेपालमा बोलिने भाषाहरूको अभिभावकत्व लिएर भाषाको संरक्षण र प्रवर्द्धन गर्न जरुरी रहेको बताए । उनले संघीय भाषा ऐन बनाउन मन्त्रालयले पहल गरिरहेको र कानून मन्त्रालयमा पुगेको उल्लेख गरे ।
मन्त्री पाण्डेले भने, ‘भाषाहरू बढ्न सक्ने सम्भावना छ । तर भएका भाषाहरू जोगाउनु नै हाम्रो प्रमुख चुनौती हो । भाषा आयोगको प्रमुख चुनौती संविधानमा जे लेखियोस्, कानूनमा जे लेखियोस् । तर यसको स्पिरिटलाई पक्रिने हो भने जोगिएका भाषा त जोगिएकै छन् । विकसित भएका भाषा त विकसित भएकै छन् । मैले बोलिरहेको नेपाली भाषामा त मानिसहरू लागेकै छन् । जो भाषामा कोही पनि छैनन् । जसको सहारा कोही पनि छैनन्, ती भाषा जोगाउने काममा यसको सहारा म हुँ, अभिभावक म हुँ, मैले जोगाउँछु भनेर भाषा आयोगले काम गर्नेछ । त्यसका लागि आवश्यक पर्ने ऐन, जुन कानून मन्त्रालयमा छ भन्नुभएको छ, यो संघीय भाषा ऐन बनाउने सन्दर्भमा मन्त्रालयका तर्फबाट तत्परता देखाउनेछु ।’