काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । उत्तर प्रदेश सरकारको आयोजनामा प्रयागराजमा हुने ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेइनबेलिटी’ कार्यक्रममा देउवालाई वक्ताका रुपमा आमन्त्रण गरिएको थियो । जसमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुने बताइएको थियो ।
पूर्वप्रधानमन्त्री देउवा आज भारत जाने तय भएपछि आयोजकले उनको नाममा कार्यक्रमको ब्यानरसमेत तयार पारेर सार्वजनिक गरिसकेको थियो । देउवाले बिहीबार बिहान आफ्नो भारत भ्रमण अचानक स्थगित गरेका हुन् ।
उनी एअर इण्डियाको उडानमा दिउँसो ३ बजे नयाँ दिल्लीतर्फ जाने तय भएको थियो । उनले प्रयागराज महाकुम्भमा डुबकी लगाउनेसमेत कार्यक्रम रहेको थियो ।
परराष्ट्रमन्त्रीसमेत रहेकी उनकी श्रीमती डा आरजू राणा देउवा बिहीबार ओमनबाट स्वदेश फर्केलगत्तै देउवाले भारत भ्रमण स्थगित गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पनि देउवाले भारत भ्रमण स्थगित गरेको जानकारीमा आएको बताए ।
स्रोतका अनुसार दिल्लीमा उच्चस्तरीय भेटवार्ता नहुने भएपछि देउवाले भारत भ्रमण स्थगित गरेका हुन् ।
दिल्लीमा आजै नयाँ मुख्यमन्त्री रेखा गुप्ताको शपथ ग्रहण भएको छ ।