arrow

मान्छेलाई पशुको जति बाँच्ने अधिकार पनि छैन, दिनभरि काम रातभरि जाग्राम

logo
प्रकाशित २०७३ पुष २० बुधबार
elephant_attack.jpeg
इनरुवा । सुनसरी पश्चिम कुशाहा गाविस–४ का योगेन्द्र उराव रातिको समयमा चयनले सुत्न पाउँदैनन् । दिनभरि काममा थाकेर आराम गर्नका लागि घर आउने योगेन्द्रको आराम गर्ने सपना करिब चार महिनादेखि पूरा भएको छैन । कारण एउटै हो, जङ्गली हात्तीको आतङ्क । 
 
कोसी टप्पु वन्यजन्तु आरक्षबाट दैनिकरुपमा राति र दिउँसोको समयमा निस्कने हात्तीको आतङ्कले उनी हैरान मात्र नभई आजित भएका छन् । उनी मध्यवर्ती क्षेत्रका लागि एक उदाहरणका पात्र मात्र हुन् । उनी जस्तै हरिपुर, श्रीपुर क्षेत्रका स्थानीयवासीलाई दिनभरि काम गरेर आउने र राति आराम गर्ने बेलामा हात्ती धपाउनुपर्ने बाध्यता रहेको छ । 
 
जङ्गली जनावरको आतङ्क र आक्रमणको त्रासका कारण रातभर जाग्राम बस्नु परेको श्रीपुर गाविसका श्यामनारायण खेरवारको भनाइ छ । 
 
हात्तीले आएर घरमा तोडफोड गर्नुका साथै स्थानीयवासीको बाली र मौका परेको बेला मानवीय क्षतिसमेत गर्ने भएका कारण आफूहरु रातभर जाग्राम बस्न बाध्य भएको पश्चिम कुशाहा–४ का रामनारायण सिंहको गुनासो छ । 
 
आरक्षबाट प्रत्येक दिन रातको समयमा तीन÷चार वटाको समूहमा निस्कने जङ्गली जनावरका कारण स्थानीयवासी जङ्गली जनावर धपाउन र वन्यजन्तुको आक्रमणबाट जोगिन रातभर जाग्राम बस्न बाध्य भएका छन् । 
 
आरक्ष क्षेत्रमा सोलार फेन्सीङको केही क्षेत्रमा व्यवस्था गरेको भएपनि कमजोर तारबारका कारण जङ्गली जनावर निर्बाधरुपमा निस्केर गाउँ पस्ने गरेको र गाउँमा आतङ्क मच्चाउने गरेको श्रीपुरका धर्मेन्द्र मेहताको भनाइ छ । 
 
 
स्थानीयवासी मात्र नभई आरक्षबाट दैनिकरुपमा आउने जङ्गली हात्तीका कारण आफूहरु समेत समस्यामा परेको आरक्षका कर्मचारीको गुनासो छ । 
 
रातिको समयमा हात्तीले सुतेको कोठाअगाडि आएर बितण्डा मच्चाउने गरेका कारण रातिको समयमा ज्यान जोगाउन समस्या भएको आरक्षका सहायक संरक्षण अधिकृत झोलाइ चौधरीले बताए । 
 
स्थानीयवासीलाई काठ दाउरा र चरीचरनबाट रोक लगाउने गरेको भएपनि आरक्षले जङ्गली जनावर रोक्न नसकेकोमा स्थानीयवासीले आक्रोश पोखेका छन् । 
 
आरक्षमा रहेको समस्या समाधान गर्न आरक्ष प्रशासन उदासीन रहेको स्थानीयवासीले बताएका छन् । 
 
आरक्षले आफ्नो क्षेत्रमा जनतालाई प्रवेश गर्न नदिने तर जङ्गली जनावर गाउँ पसेर बाली खाने, कुल्चिदिने, नष्ट गरीदिने गरेको भएपनि त्यसलाई रोक्न ध्यान नदिएको आरक्ष क्षेत्रका सर्वसाधारणको गुनासो छ । 
 
एकतर्फ हात्तीको आतङ्क र अर्कोतर्फ आरक्षमा सुरक्षार्थ खटिएका सेनाले महिलालाई अभद्र व्यवहार गर्ने र प्रतिवाद गरे पक्रेर रु पाँचसय जरिवाना तिराउने गरेको स्थानीयवासीको आरोप छ । 
 
हात्ती आतङ्क जारी रहेको भएपनि आफूले नियन्त्रणको प्रयास गरिरहेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार शाहले बताए । उनले यहाँ धेरै समस्या रहेको स्वीकार गर्नुहुँदै समाधानको प्रयासमा आरक्ष लागेको बताउँछन् । 
 
हात्तीले स्थानीयवासीको घर तोडफोड गर्नुका साथै आरक्षको कार्यालयलाई समेत अछुतो राखेको छैन । 
 
आरक्षको बाउन्ड्री वाल ९घेरा पर्खाल०, भान्सा कोठा पनि हात्तीले तोड्फोड गरिदिएका छन् । यसमा आरक्ष मात्र नभई स्थानीय प्रशासन र सरकारको ध्यान जानु जरुरी छ नत्र अहिले घर तोडफोड गरिरहेको हात्तीले मानिसको ज्यान लिन समेत पछि पर्नेछैन । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ