arrow

क्रान्तिकारी रोल्पाको कथा : अदालतमा मुद्दै–मुद्दा, ‘विवाह गर्ने उमेर नपुग्दै छोडपत्र’

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ पुष १९ मंगलबार
rolpa.jpeg

रोल्पा । धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षकी भइन् । १७ वर्षको कलिलो उमेरमा धबाङ–८ कै २० वर्षीय सुरेश पुनको मायाजालमा परेकी डाँगी परिवारको स्वीकृतिमा २०७१ साल मंसीर २९ गते वैवाहिक बन्धनमा बाँधिइन् ।  

विवाहपछि एक अर्काबीच अनेक चाहना र बाध्यताहरु सिर्जना भए । सँगै मर्ने सँगै बाँच्ने बाचा गरेर जोडेको सम्बन्ध लामो समय टिकेन । एक अर्काबीच खटपट शुरु भयो । जसका कारण श्रीमान् श्रीमतीबीचको सम्बन्धमा दरार आयो । विवाह भएको २ वर्षमै डाँगीले २०७३ साल मंसिर २७ गते जिल्ला अदालत रोल्पामा छोडपत्र गरिपाउँ भनि मुद्दा दर्ता गरिन् ।

२०७१ साल फागनुमा श्रीमान् बैदेशिक रोजगारीका लागि बाहिर गएपछि फोनबाटै गाली गलौज गर्ने, घरमा खर्च नपठाउने, फोनबाटै मेरो घर तुरुन्त छोड भन्ने जस्ता शब्द प्रयोग गरेर डर धम्की दिने गर्न थालेपछि छोडपत्रको निवेदन लेख्नु परेकोे–डाँगीले सुनाइन् । उनले दर्ता गराएको निवेदन विचाराधिन रहेको जिल्ला अदालत रोल्पाले जनाएको छ ।

राङ्सी ५ रोल्पाकी दीपा घर्तीमगरले आजभन्दा ८ वर्ष पहिले १५ वर्षको कलिलो उमेरमा कोर्चाबाङ ७ रोल्पाका खडकबहादुर घर्तीसंग प्रेम विवाह गरिन् । १६ वर्षको उमेरमा आमा बनेकी घर्तीले आफ्नो अध्ययनलाई ४–५ कक्षा भन्दा माथि लैजान सकिनन् । दुबैको मञ्जुरीमा प्रेम विवाह गरेकी घर्तीका पछिल्ला दिनहरु कष्टकर बन्दै गए ।

दिनभरी कामगर्दा पनि श्रीमान्ले पेटभर खान लगाउन नदिएको, रातदिन कुटपीट गर्ने गरेको, बैदेशिक रोजगारीमा पुगेपछि आफू र आफ्नो बच्चाको वेवास्ता गरेको लगायत घरेलु हिंसाले न्यायको ढोका ढक्ढकाउन कयौं पटक इलाका प्रहरी कार्यालय घर्तीगाउँ पुगेको सुनाउँछिन् उनी ।
पटक–पटक घर्तीगाउँ प्रहरीले श्रीमान् श्रीमतीका बीचमा मेलमिलाप गराएर पठायो । तर, स्थायी रुपमा दुबैबीच सम्बन्ध सुध्रिन सकेन । उनले भनिन्, ‘मुटु जोडेर गाँसेको नाता टुक्रिएपछि कसैको केही लाग्दैन रहेछ ।’ पीडा सहन नसकेपछि घर्ती छोडपत्र गर्न भन्दै जिल्ला अदालत रोल्पा पुगिन् । उनको मुद्दा पनि प्रक्रियामै छ ।

यस्तै, कोटगाउँ ७ रोल्पाकी १७ वर्षीया कमला बुढा र कोर्चाबाङ गाविस २ रोल्पाका २० वर्षीय समीर बुढाबीच २०७० साल भदौ २५ प्रेम विवाह भयो । बुढा दम्पतीका बीचमा पनि टिकाउ सम्बन्ध बन्न सकेन । २०७१ साल असोज १० गते पारिवारीक झगडा भएपछि माइतीघरमै बस्दै आएकी श्रीमती कमला बुढाले २०७३ साल साउन १९ गते जिल्ला अदालत रोल्पामा छोडपत्रका लागि मुद्दा दर्ता गराइन ।  उनको मुद्दा पनि अदालतको प्रक्रियामै छ ।

गैरीगाउँ १ रोल्पाकी १८ वर्षीया पवित्रा केसीले बुढागाउँ ९ रोल्पाका १८ वर्षीय हेमराज पुनसंग २०७० साल पुष १५ गते प्रेम विवाह नै गरे । श्रीमान् विवाह भएको करिव १ महिनापछि कामको खोजीमा काठमाडौंको इटाभट्टा पुगे । ६ महिना पछि त्यहाँबाट फर्केर करिव १० दिन घरमा बसेका पुन कामकै खोजीमा भारत पुगे । यसरी भारत पुगेका श्रीमान्ले घरमा भएकी श्रीमतीको बेवास्ता गर्ने, खर्च नपठाउने गर्न थालेपछि दिनहरु कष्टकर बन्दै गए ।  

उनले भनिन्, ‘श्रीमान् श्रीमती लामो समयसँगै बसेका छैनौं । सँगैहुँदा पनि श्रीमान्ले जाँड रक्सी खाने कुटपिट गर्ने गर्नुहुन्थ्यो । घरमा भएका परिवारले पनि मानसिक तनाव दिनथालेपछि माइती आएँ ।’ माइतीले छोरीलाई घरमै बस्ने वातावरण मिलाउनका लागि जतिनै प्रयास गरेपनि काम नलागेको केसीकी भाउजुले बताइन् । उनले भनिन्, “हामीले नानीलाई घरमै बसाल्ने वातावरण मिलाउन धेरै बल गरेका हौं । तर, ज्वाईले कुटपीट गर्न र यातना दिन छा्ड्नु भएन । माइतीमै राख्नुपर्छ भने किन सम्बन्ध गासिरहने भन्ने सोंचेर छोडपत्रका लागि निवेदन दिन लिबाङ आयौं । चेलीलाई दुःख पर्दा माइतीले नहेरे कस्ले हेर्ला ? हामी नानीलाई सधै दुःख पाएको हेर्न सक्दैनौं ।” आइतबार केसी सम्बन्ध तोड्न भन्दै मुद्दा दर्ता गराउन जिल्ला अदालत रोल्पा आइपुगिन् ।

राँक ५ रोल्पाकी ५० वर्षीया कौशिला विकको पनि पीडा उस्तै छ । उनले पनि छोडपत्रका लागि जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता गराएकी छन् । श्रीमान् कुलवीर कामीले मदिरा सेवनगरी कुटपीट गर्ने, गाली गलौज गर्ने, आफ्नो कामको जस नदिने, सधैं झगडागरी आफूलाई शारीरिक तथा मानसिक रुपमा यातना दिने गरेको उनले दर्ता गरेको निवेदनमा उल्लेख छ । उनको मुद्दा पनि विचाराधिन छ । यसरी १७–१८ वर्षको उमेरदेखि ५०–५५ वर्षको उमेर समूहका महिला सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत रोल्पामा आउने गरेको मुद्दा फाँटका नायव सुब्बा दामोदर दाहालले जानकारी दिए ।

मुद्दा फाँटकै खरिदार दिपेन्द्रराज श्रेष्ठका अनुसार जिल्ला अदालत रोल्पामा यो आर्थिक वर्षमा मात्रै जम्मा ५० वटा नयाँ र २० वटा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका गरी कूल ७० वटा सम्बन्ध विच्छेदकै मुद्दा रहेका बताए ।

यो वर्ष ३३ वटा सम्बन्ध विच्छेदका मुद्दा फैसला भइसकेका छन् भने बाँकी सबै विचाराधिन अवस्थामा रहेका श्रेष्ठले जानकारी दिए । जस अन्तर्गत ७ वटा मुद्दा अंशसहित सम्बन्ध विच्छेद गर्न खोजेको भएपछि अन्य कसैले पनि अंश दावी गरेका छैनन् ।

जिल्ला न्यायाधीस कमलप्रसाद ज्ञवालीका अनुसार सम्बन्ध विच्छेदको समस्या पछिल्ला दिन रोल्पा जिल्लामा मात्र नभएर देशभर नै बढ्दै गएको छ । विशेषगरी बालबिबाहका कारण विवाह गर्ने उमेरका किशोर किशोरीहरुले सम्बन्ध विच्छेद गर्ने गरेको भेटिएको छ ।

अर्कोतिर मान्छे कसैको अधिनमा बस्न नचाहनु, बेरोजगार हुनु, विदेश गएका श्रीमान्हरुले घरमा पैसा नपठाउनु, महिलालाई पारिवारीक बोझ वा जिम्मेवारी बढी हुनु, तथा परिवारले नस्वीकार्नु सम्बन्ध विच्छेदका मुख्य कारण रहेका न्यायाधीश ज्ञवालीले बताए ।  

यस्तै, प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार प्रहरी कार्यालय रोल्पामा आएका सबैजसो घटनाहरु मिलाएर पठाउने गरिएको छ । केही घटनाहरुमात्र सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत पुग्ने गरेका छन् । यस्तै, जिविस रोल्पाकी सामाजिक विकास अधिकृत रत्नज्योती हमालका अनुसार एकाद बाहेक जिल्लामा बालबिबाह गरेका अधिकांश जोडीहरुले नै सम्बन्ध विच्छेद गर्ने गरेका छन् ।

बाबुआमाको मञ्जुरीमा १८ वर्ष र इच्छाले गर्न चाहेमा २० वर्षपछि विवाह गर्ने कानूनी प्रावधान रहेपनि जिल्लामा बालविवाह न्यूनिकरणलाई मध्यनजर गर्दै परिवारको मञ्जुरी भएपनि नभएपनि २० वर्षपछिमात्र विवाहका लागि मान्यता दिएको छ । प्रजनन् स्वास्थ्यका हिसावले हेर्दा २० वर्षपछिको विवाह गर्दा नै उपयुक्त हुने चिकित्सकहरुको सुझाव छ । पछिल्लो समय सरकारले ल्याउन लागेको नयाँ कानुनमा विवाहको उमेर २० वर्ष पुगेकै हुनु पर्ने उल्लेख गरिँदै छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ