भ्रातृ सङ्गठनहरूको अधिवेशन तोकिएकै समयमा गर्ने कांग्रेसको निर्णय [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १ बिहिबार
585
Shares
काठमाडौँ । नेपाली कांग्रेसले विभिन्न भ्रातृ सङ्गठनहरूको अधिवेशन तोकिएकै समयमा गर्ने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र विभिन्न भ्रातृ सङ्गठनहरूबिचको छलफलपछि सबै भ्रातृ सङ्गठनहरूको अधिवेशन चैत महिनामै गर्ने निर्णय गरेको हो ।
कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केही चुनौती भए पनि तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्ने निर्णय भएको बताए । उहाँले भ्रातृ संस्थाका निर्देशन समिति र प्रमुखहरूसँग अधिवेशन तयारीका बारेमा छलफल भएको बताए । तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न पार्टीले गर्नुपर्ने सहयोगका बारेमा सुझाव पनि लिएको प्रवक्ता महतले बताए ।
उनले भने, ‘भातृ सङ्गठनहरूको अधिवेशन सम्पन्न गर्न सिनियर साथीहरूलाई राखेर निर्देशक समिति गठन गरी अधिवेशन चैतसम्म गर्ने भनेर पार्टीले निर्णय गरेको थियो, त्यसैको प्रगतिका बारेमा नेतृत्वमा प्रस्तुत गर्ने र पार्टीले कसरी मद्दत गर्न सक्छ भन्ने बारेमा उहाँहरूसँग छलफल केन्द्रित भयो । केही साथीहरूले चुनौती दर्शाउनुभयो तर धेरै साथीहरूले तोकिएकै समयमा अधिवेशन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।’