बालेनलाई अमरेशको चुनौती - हिम्मत छ भने संसद भवन भत्काएर देखाऊ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २८ सोमबार
780
Shares
काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनलाई संघीय संसद भवन भत्काएर देखाउन चुनौती दिएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रमुख साहले कवाडी व्यवसायीमाथि दमन गरिरहेको उल्लेख गर्दै उक्त कार्य रोक्न सरकारको ध्यानाकर्षण समेत गराए ।
उनले प्रमुख साह तानाशाह भएर निस्किएको उल्लेख गरे । उनले मेयर साह नागरिकलाई एक ठाउँबाट अर्को ठाउँमा गएर बस्न पाउने संवैधानिक हकको विरुद्धमा लागेको बताए ।
उनले भने, ‘बालेनलाई म चुनौती दिन चाहन्छु, हिम्मत छ भने संसद भवन भत्काएर देखाऊ, सिंहदरबार भत्काएर देखाऊ, रामशाह पथको सर्वोच्च अदालत भत्काएर देखाऊ । हिम्मत छ भने बालुवाटार र राष्ट्रपति निवास शीतल निवास भत्काएर देखाऊ । यो नाजीवादको शैली काठमाडौंको मेयरको चल्दैन । म संघीय सरकारलाई आग्रह गर्न चाहन्छु यो देश बहुभाषिक हो बहु धार्मिक हो । यहाँ हरेक तप्काको एक ठाउँबाट अर्को ठाउँमा जाने, बोल्ने र बस्ने स्वतन्त्रता संविधानले दिएको छ । यो त लथालिङ्ग देशको भताभुङ्ग चाला, जहाँ जसले सके त्यहीले खाला भयो । यो न्याय मरेको देश हो ? के कानून नभएको देश हो ? त्यो मेयर किन तानाशाह भएर निस्किएको छ ?’
उनले प्रमुख बालेनलाई संसद भवनसँगै सिंहदरबार, सर्वोच्च अदालत, शिलतनिवास र बालुवाटार भत्काएर देखाउन चुनौती दिए ।