arrow

सबैभन्दा धेरै दर्शनार्थी हुने अपेक्षा

महाशिवरात्रीको तयारी

प्रयागराजमा चलिरहेको महाकुम्भमा आएका धेरै साधु सन्त पनि आउन सक्ने अनुमान गरेर त्यसै अनुरुपको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २८ सोमबार
pashupati-81-10-28.jpg
तस्बिर – सोमबार पारेर धार्मिकस्थल काठमाडौँको पशुपतिनाथ मन्दिरमा पूजा आराधना गर्न आएका भक्तजन, रासस ।

काठमाडौँ । पशुपति क्षेत्रमा महाशिवरात्रीको तयारी शुरु भएको छ । महाशिवरात्रीको तयारी स्वरुप पशुपति क्षेत्रमा सफाइ गरिएको छ ।

 पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाको नेतृत्वमा भएको सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोषका कर्मचारी, स्थानीय एवं भक्तजनको पनि सहभागिता रहेको थियो । 

महाशिवरात्रीमा पशुपतिलाई आकर्षक रुपमा सजाउन रङरोगन गरिने कोषका सदस्य सचिव थापाले बताए । महाशिवरात्रीका लागि पशुपति क्षेत्रमा विभिन्न देवी देवताका आकर्षक भित्ते चित्र पनि बनाइने भएको छ । 

त्यसको काम पनि शुरु भएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा अहिले महाशिवरात्रीको पूर्वतयारीका लागि काम भइरहेको छ । 

यस वर्ष भारतको प्रयागराजमा चलिरहेको महाकुम्भमा आएका धेरै साधु सन्त पनि आउनसक्ने अनुमान गरेर त्यसै अनुरुपका तयारी शुरु गरिएको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वर भण्डारीले बताए । 

महाशिवरात्रीमा पशुपतिनाथ आउने साधु सन्त प्रत्येक वर्ष बढ्ने गरेका छन् । यस वर्ष महाकुम्भकै कारण पनि साधु सन्तको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

महाशिवरात्रीको तयारीका लागि सोमबार अथवा मङ्गलबार नै कोष सञ्चालक परिषद्को बैठक बसी अरु तयारीका काम पनि अघि बढाइने भएको छ । 

प्रत्येक वर्ष महाशिवरात्रीका दिन फागुन कृष्ण त्रयोदशीमा नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँ भक्तजन पशुपति क्षेत्रमा आउने गर्छन् । 

यस वर्ष फागुन १४ गते बुधबार महाशिवरात्री पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ