बालेन आफ्नै निर्णय कार्यान्वयनमा असफल, रोकिएन रुख–बिरुवामा बालिने बत्तीको प्रयोग [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २६ शनिबार
579
Shares
काठमाडौँ । केही समयअघि काठमाडौँ महानगरपालिकाले सहर सुन्दर बनाउन धेरै ठाउँका रूख र पोलहरूमा झिलिमिली बत्ती लगाएको थियो । २०८० असोजमा महानगरले नयाँ बानेश्वरको ‘बिजुली बजार आर्क ब्रिज’मा झिलिमिली बत्ती बेरेपछि वडाहरूले महानगरको सिको गर्दै सडक किनारमा रहेका पोल, ओभरहेड ब्रिज जताततै झिलिमिली बत्ती राख्न थाले ।
चरा चुरुंगी कीराफट्यांग्रा, जुनकिरी लगायतका साना जीव रातको समयमा सक्रिय हुन्छन् । त्यस्तो बेला कृत्रिम र चहकिलो बत्तीले उनीहरूलाई बाधा पुर्याएको पन्छीविज्ञ बताउँदछन् ।
चर्को आलोचनापछि महानगरले लहरे बत्तीको प्रभावबारे अध्ययन गर्न उपमेयर सुनिता डंगोलको अध्यक्षमा बैशाख २४ मा अनुगमन समिति बनायो । समितिको निर्णयमा सुनिता डंगोलले भनेकी थिइन् , ‘सर्वसाधारणले अनुभूति गरेको समस्या र विषय विज्ञसहितको टोलीले गरेको अध्ययनको सिफारिस एउटै छ । यसकारण यस्ता बत्तीहरूको व्यवस्थापन आवश्यक छ । यसलाई क्षेत्र, स्थान र समय वर्गीकरण गरेर नियमन गर्न मार्गनिर्देशन जारी गर्नेछौँ ।’
त्यही प्रतिवेदनको आधारमा महानगरले मंसिर २३ गते महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) को अध्यक्षतामा बसेको महानगरपालिकाको ३७औँ कार्यपालिका बैठकले ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’, २०८१ स्वीकृत गर्दै झिलिमिली देखाउने नाममा रुख–बिरुवामा बालिने बत्तीमा रोक लगाएको थियो ।
निर्णय गरेको २ महिना बितिसक्दा पनि सहरमा जडान भइसकेका बत्तीहरु भने जस्ताको त्यस्तै देखिन्छन् । झिलिमिलीका नाममा रुखदेखि पार्कसम्म बत्ती बाल्न महानगरले प्रतिबन्ध लगाए पनि जडान भइसकेका बत्तीहरु भने उस्तै अवस्थामा छन् ।