arrow

संसदमा दर्ता भएपछि प्रदीप ज्ञवाली भन्दैछन् – सामाजिक सञ्जालसम्बन्धी विधेयक सञ्चारक्षेत्रसँग छलफल गरेर ल्याइन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १७ बिहिबार
pradip-gyawali-81-10-17.jpg

काठमाडौँ । नेकपा एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक संसद् र सञ्चारक्षेत्रसँग छलफल गरी प्राप्त सुझावका आधारमा परिमार्जन गरिने बताएका छन् । 

प्रेस चौतारी नेपाल ललितपुरको आज छैटौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सामाजिक सञ्जाललाई मर्यादित बनाउनकै लागि सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक ल्याउन लागिएको जानकारी बताए । 

उनले सामाजिक सञ्जाल स्वच्छ मनोरञ्जन र सूचना आदानप्रदानको थलो बन्नुपर्ने बताए । तथ्यमा आधारित भएर जसको पनि पर्याप्त आलोचना गर्न पाइने तर जिउँदो मानिसलाई श्रद्धाञ्जली दिनेजस्ता कार्यलाई स्वीकार्न नसकिने उनको भनाइ छ । 

कार्यवाहक महासचिव ज्ञवालीले आफ्नो पार्टी सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्दै लोकतन्त्रले जनताको जीवनमा पनि परिवर्तन ल्याउने बताए। 

कार्यक्रममा प्रेस चौतारी नेपालका उपाध्यक्ष राजेश राई, महासचिव हिरामान लामालगायतले सामाजिक सञ्जाललाई व्यवस्थित बनाउने नाममा प्रेस स्वतन्त्रता हनन गर्न नहुने बताए । 

यो विधेयक सरकारले संसदमा दर्ता गरिसकेको छ । संसदमा दर्ता गर्नुअघि सरकारले सम्बन्धित निकायसँग छलफल भने गरेको थिएन । 

अधिवेशनले नवीन लुईंटेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यक्रममा नेपाल प्रेस डटकमका प्रधानसम्पादक मात्रिका पौडेल र सञ्चारकर्मी विष्णु कल्पितलाई प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ